संजय रेग्मी
अशोज १२, २०७५
पर्वत : चाड पर्वको बेलामा सवारी साधन र यात्रीसंग सम्बन्धित घट्ना र उजुरी बढ्ने भएको भन्दै पर्वतमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा सदरमुकाम कुश्मा बजारको मुख्य चोक शिवालय चोकमा कक्ष स्थापना गरेका हुन। उजुरी कक्षमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, ट्राफिक प्रहरीका प्रतिनिधि र यातायात व्यवसायीका प्रतिनिधिहरुले संयुक्त रुपमा उजुरी सुनुवाई गर्नुका साथै यातायात व्यवसायीले क्षमता भन्दा बढी यात्रु राखे वा नराखेको र तोकिएको भन्दा बढी भाडा अशुल गरे वा नगरेको बिषयलाई मुख्य रुपमा अनुगमन गर्ने छन। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाट भन्छन, ‘यात्रीले यात्राका क्रममा कुनै पनि गुनासो गर्नुपर्ने भएमा तुरुन्त यो कक्षमा सम्पर्क राख्न सक्नुहुनेछ। यातायात व्यवसायीले यात्रीलाई बढी भाडा लिने, बढी यात्री र सामान राख्ने लगायतका गल्ती गरेको पाईएमा तुरुन्त कारबाही हुन्छ।’
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चाडपर्वको बेलामा हुन सक्ने आपराधिक र सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्धेश्यका साथ सहायता कक्ष स्थापना गरेको बताए। चाडपर्वको समयमा बिभिन्न तरीकाले यात्रीहरु ठगिने गरेको भन्दै त्यस्तो हुन नदीनको लागि रणनीति तयार गरिएको उनको भनाई छ। प्रहरी नायव उपरीक्षक तिवारी भन्छन, ‘हामीले जिल्लालाई सुरक्षित बनाउन विशेष सुरक्षा रणनीति नै तयार पारेर सोही अन्तर्गत सहायता कक्ष स्थापना गरेका हौँ।’
पर्वतमा राखिएको नागरिक यात्रु सहायता कक्षले पर्वत सहित मुस्ताङ, म्याग्दी र बागलुङबाट पर्वत हुँदै अरु जिल्लामा जाने र अरु जिल्लाबाट साबिकको धौलागिरीमा भित्रिने चार ओटै जिल्लालाका यात्रीलाई सहयोग पुग्ने छ। यात्रा गर्ने क्रममा नागरिकले सवारीका संचालकहरुबाट गरिएका लापरबाही सहित यात्राका क्रममा हुन सक्ने चोरी, लुटपाट, दुव्र्यवहार, ठगी लगायतका बिषयमा पनि उजुरी गर्न सक्ने छन।









