संजय रेग्मी
अशोज १२, २०७५
पर्वत : चाडपर्वहरु नजिकिँदै गएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले बिशेष सुरक्षा रणनीति तयार गरेको छ । चाडबाडको सिजनमा चोरी, लुटपाट तथा आपराधिक क्रियाकलापहरु बढ्न सक्ने अनुमान गर्दै प्र्रहरीले सुरक्षा सतर्कतालाई ध्यान दिएर विशेष सुरक्षा रणनीति तयार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षा व्यवस्थालाई बलियो र प्रभावकारी बनाउन कुश्मा बजार सहित जिल्लाका अन्य बिभिन्न स्थानमा प्रहरी तैनाथी बढाउनुका साथै सुरक्षा चेक जाँचलाई पनि अघिपछिको समयमा भन्दा तिब्र पार्दै लगिएको छ । पर्वत प्रहरीले जिल्लाको सिमाका रुपमा रहेको मालढुंगामा पहिलोपटक दैनिक सुरक्षा चेकजाँच पोष्ट स्थापना गरेको छ । पर्वतमा विशेष सुरक्षा योजना थालेपछि प्रहरी र नागरिक बीचको सम्बन्धमा सुधार आएको बताउँदै प्रहरी नायव उपरीक्षक तिवारीले दशैँ तिहार नजिकिँदै आएका बेला आँपूmहरु थप सक्रिय भएर अघि बढ्ने पनि उल्लेख गर्नुभयो । चाडपर्वमा भीडभाडको मौका छोपेर अनैतिक तथा अन्य आपराधिक गतिविधि हुन नदिनका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गर्ने तयारी थालेको छ । दशैँका बेला अष्टमी र नवमीका दिन मेला लाग्ने विशेष धार्मिक स्थलहरुमा सुरक्षाका लागि प्रहरीले योजना बनाइरहेको र जुवातास, जाँडरक्सी तथा सामाजिक विकृति न्यूनिकरणमा नागरिकहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहेको तिवारीले बताउनुभयो । चाडबाडलाई ध्यानमा राखेर विगतभन्दा बढी पैदल, मोटरसाइकल र सिविल प्रहरी गस्ती परिचालन गर्ने योजना प्रहरीले बनाएको छ । प्रहरीले चाडबाडको बेलामा जुवा तास नखेल्न पनि सबैलाई आग्रह गरेको छ । अटेर गरी कानुन बाहिरका काम गरेको पाईएमा जो कसैलाई पनि कारबाही गरिने प्रहरीको भनाई छ ।









