भदौ ३१, पर्वत । कुश्मा नगरपालिका ३ दुर्लुङमा झाडी फँडेर किवीखेती शुरू गरिएको छ । स्थानीय कृषक खेमबहादुर गुरुङले झाडी फाँडेर किवीखेती शुरू गरेका हुन् । उनले किवी खेतीबारे कृषि विकास कार्यालयबाट तालीम लिएपछि सिँचाइको अभावमा बाँझो राखेको जमीनमा खेती शुरू गरेका हुन् ।

शुरूमा उनले रोपेको १० ओटा बिरुवाले अहिले फल दिन थालेको छ । परीक्षण सफल भएपछि उनले खेती विस्तारको योजना बनाएका छन् । खेमबहादुरको सिको गर्दै स्थानीय चनौटो आमा समूहको सक्रियतामा यो वर्षदेखि दुर्लुङ गाउँभरि किवीखेती गरिने भएको छ ।

त्यसका लागि नगरपालिकासँग सहयोगको माग गरिएको छ । नगरप्रमुख रामचन्द्र जोशीले खेमबहादुरको किवीखेतीको स्थलगत अवलोकन गरेर सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । कृषिविज्ञसँग सल्लाह गरेर आवश्यक बजेटको व्यवस्था गर्ने उनले बताए ।

कृषिज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीका अनुसार किवी प्रतिकिलो ३ सय रुपैयाँमा विक्री हुने गरेको छ । एउटै बोटमा ५० किलोसम्म किवी फल्ने उनको अनुभव छ ।