३१ भदौ
काठमाडौं– कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त हत्या प्रकरणमा थप ५ प्रहरी अधिकारी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी रहेका छन् ।
गृह मन्त्रालयका अनुसार सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिको सिफारिसको आधारमा उनीहरुलाई निलम्बन गरिएको हो । उनीहरु सबैलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि नै गृहमन्त्रालयले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको थियो । उनीसहित तीन आरोपीको डीएनए परीक्षणका लागि नमुना समेत संकलन भइसकेको छ । सुवेदीले प्रतिवेदनले औँल्याएका अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याई अनुसन्धान कार्य अगाडि बढाउन निर्देशन भएको पनि बताएका छन् ।
पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जो कोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारवाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइएको छ । मन्त्रालयले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरेको छ ।
यसैबीच समितिले प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरेको छ । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा अध्ययन गरी समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।
यता, निर्मला पन्तलाई न्याय माग्दै शनिबार देशभर प्रदर्शन भयो । निर्मला हत्या काण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले प्रदर्शन गरेका हुन् ।
‘निर्मलाका निम्ति न्याय’ अभियानमा सहयोग पुर्याउन भएको प्रदर्शनमा देशभर स्वतः स्फुर्त रूपमा प्रदर्शन भएको हो ।









