भदौ १३
पर्वत । नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरूङले आज पर्वतको जलजला ७ धाईरिङका पहिरो पीडितहरूलाई राहात वितरण गर्नुभएको छ । नेता गुरूङले विभिन्न दाताहरूसँग संकलन गरेको राहात सामाग्री नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाको सहकार्यमा धाइरिङको अति प्रभावित गाउँ सल्यानमा पुगेर पीडितहरूलाई वितरण गर्नुभएको हो ।
राहात वितरण कार्यक्रममा बोल्दै नेता गुरूङले घटना घटेको समयमा आफू देश बाहिर भएकोले पीडितहरूलाई सहानुभूति व्यक्त गर्न पनि समयमा आउन नसकेको वताउँदै पहिरोबाट आफन्त गुमाएका घरबास गुमाएका र सम्पत्ति क्षति भएका सबै परिवारमा समबेदना व्चक्त गर्नुभएको छ । नेता गुरूङले आफू निर्वाचन हारेपनि जनताहरूको सुखदुखसँगको आफ्नो सम्बन्ध र सहकार्य निरन्तर जारी रहने प्रतिवद्धता जनाउनुभयो ।
काँग्रेसका पूर्व सभापति समेत रहेका नेता गुरूङले आज केही निकायबाट जुटाएको यो सानो सहयोग भएपनि भोलिका दिनमा पीडितहरूको पुनर्वासका लागि दाताहरूसँग थप पहल गर्ने प्रतिवद्घता जनाउनु भएको थियो । उहाँले विपत र प्रकोप कुनै राजनीति, धर्म,जाती र बर्ग हेरेर नआउने जानाकारी दिँदै विपतमा परेकाहरूलाई सहयोग गर्न सबै एकजुट भएर लाग्न सुझाव दिनुभयो ।
सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाका सभापति रूद्रबहादुर रिमालले जहाँ दुख त्यहाँ रेडक्रस भन्ने सिद्धान्त अनुसार दैवी प्रकोपबाट पीडित भएकाहरूलाई आफ्नो संस्थाबाट निरन्तर सहयोग भएको वताउँदै धाइरिङको पहिरोबाट घरबास गुमाएकाहरूका लागि पनि आफूहरूको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा सभापति रिमालले रेडक्रस शाखाबाट लगेको १५र१५ थान लत्ताकपडा, त्रिपाल र भाँडाकुँडा वितरण गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कार्यसमिति सदस्य एवं रेडक्रस शाखाका उपसभापति डा चूडामणि शर्मा, जिल्ला सदस्य कुलप्रसाद उपाध्याय, जिल्ला सदस्य लेखबहादुर गुरूङ, जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्वुजा पुन,जलजला गाउँपालिका विपद व्यवस्थापन समितिका संयोजक भीष्म मल्ल,नेपाल रेडक्रस सोसाइटीका उपमन्त्री पिताम्वर शर्मा अधिकारी,नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रूद्रलाल उपाध्याय लगायतले बोल्नु भएको थियो ।
जलजला गाउँपालिका वडा नं ७ धाईरिङका वडाअध्यक्ष टुङ्गनाथ शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन वडासचिव मोहदत्त शर्माले गर्नुभएको थियो । पहिरोबाट धाइरिङमा ४ घर पूर्ण क्षति ५ जना घाइते २५ जना उच्च जोखिम र ५३ जना जोखिममा रहेको वताइएको छ ।
यसैगरि पहिरोबाट घाइते तथा पूर्ण क्षति भएका परिवारलाई वडाअध्यक्ष हरिविकास जिसीको अग्रसरतामा जलजला गाउँपालिकाबाट विनियोजन भएको २५÷२५ हजार आजै वितरण गरिएको छ । जलजला वडा नं ८ का वडाअध्यक्ष हरिविकास जिसीको पहलमा विनियोजन भएको उक्त रकम लस्तीमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका नेता नबराज गुरूङले हस्तान्तरण गर्नुभएको हो ।
गत साउन १ गते राती आएको बाढी पहिरोका कारण लस्तीमा एकजनाको ज्यान गएको थियो भने १६ परिवार पूर्ण क्षति ३३ परिवार उच्च जोखिम र ४२ परिवार आंशिक जोखिममा परेको वडाअध्यक्ष जिसीले जानाकारी दिनुभयो ।









