१२ भदौं
काठमाडौं । बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएका कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्या भएको आज एक महीना बितेको छ ।
प्रहरीले उक्त घटनामा संलग्न भन्दै भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई गत साता सार्वजनिक गरे पनि स्थानीय र मृतकका आफन्तले भने त्यसलाई इन्कार गरे ।
आज राष्ट्रिय मानव अधिकार परिषद्को टोलीलाई निम्बुखेडास्थित घटनास्थल देखाइरहेको अवस्थामा भेटिएका निर्मलाका बुबा यज्ञराज पन्तले घटनाका दोषीलाई एक महीनासम्म कानूनी दायरामा ल्याउन नसक्नु प्रहरी प्रशासनको लाचारीपन भएको बताउनुभयो ।
“घटनाका पीडकलाई कानूनी दायरामा ल्याएमात्रै निर्मलाको आत्माले शान्ति पाउनेछ”, बुबा यज्ञराजले रासससित भन्नुभयो, “यहाँ अपराधी बचाउन धेरै षड्यन्त्र भइरहेका छन् ।”
उहाँले निर्मला गृहकार्य गर्न गएको रोशनी बमको घरलाई केन्द्र मानेर अनुसन्धान गर्न माग गर्नुभयो । “निर्मला र रोशनी एउटै कक्षामा पढ्ने साथी हुन्”, उहाँले भन्नुभयो, “निर्मलालाई फकाएर बम दिदीबहिनीले षड्यन्त्र रचेँ ।” निर्मलाको खोजी कार्यका लागि पुग्दा प्रहरीबाट बेवास्ता भएको उहाँको भनाइ छ ।
“समयमै खोजी गरिदिन आग्रह गर्दा प्रहरीबाट बेवास्ता भयो”, उहाँले भन्नुभयो, “न्याय नपाएसम्म लडिरहनेछु ।” गत साउन १० गते साथी बमको घरबाट घर फर्किरहेकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । घटनापछि स्थानीय बासिन्दाले चरणबद्ध आन्दोलन थालेका थिए ।
सरकारले निर्मला काण्डबारे छानबिन गर्न उच्चस्तरीय टोली कञ्चनपुर पठाएको छ भने जिल्लामा स्थानीय प्रशासन र प्रहरीको नयाँ नेतृत्व पठाएर अनुसन्धान तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुँवेर कडायतले घटनाको शून्यबाट अनुसन्धान थालिएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझालाई घटनाबारे अनुसन्धानका लागि अधिकृत तोकिएको छ । आन्दोलनका कारण अशान्त बनेको भीमदत्तनगर अझै सामान्य अवस्थामा फर्किन सकेको छैन ।









