११ भदौं
पर्वत । पञ्चकोशी मावि कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा पुरस्कार तथा छात्रबृत्ति रकम वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा स्थापना भएका विभिन्न ८ वटा अक्षयकोषबाट विद्यालयमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण तथा पुरस्कार वितरण गरिएको हो ।
विद्यालयमा स्थापना भएको प्रेम विष्णु अक्षयकोषबाट कक्षा १२ मा उत्कृष्ट हुने सोनु गुरुङ्ग र सञ्जय नेपालीलाई नगद ६/६ हजाार रुपैया वितरण गरिएको छ । त्यस्तै सोहि अक्षयकोषबाट एसइइ परिक्षामा उत्कृष्ट हुने सविना गुरुङ र रमेश विकलाई नगद रु ५/५ हजार रुपैया वितरण गरिएको छ ।
त्यसैगरी भवानी रञ्जना अक्षयकोषको रकमबाट सोनु गुरुङ्ग र सञ्जय नेपालीलाई नगद रु २/ २ हजार रुपैया वितरण गरिएको छ । त्यस्तै स्वर्गिय युवराज पौडेल स्मृति अक्षयकोषको रकमवाट विद्यालयमा अध्ययनरत दुई अपाङ्गता भएका विद्यार्थी लक्ष्मी सुनार र मिना क्षेत्रीलाई नगद तीन हजारका दरले वितरण गरिएको छ । त्यसैगरी प्रेम पौडेल प्रोत्साहन पुरस्कारबाट एसइइ परिक्षामा उत्कृष्ट हुने सविना गुरुङलाई पुरस्कृत गरिएको छ । त्यसैगरी स्वर्गिय हेमन्त गुरुङ अक्षयकोषबाट नर्सरी देखि कक्षा १० सम्मका उत्कृष्ट छात्रछात्रा तथा स्वर्गिय लालकुमारी अक्षयकोषबाट पनि उत्कृष्ट छात्रछात्रालाई छात्रबृत्ति रकम वितरण गरिएको छ । त्यस्तै स्वर्गिय मेजर नरबहादुर गुरुङ्ग स्मृति कोषबाट जनजाती तर्फ उत्कृष्ट हुने छात्रछात्रालाई छात्रबृत्ति प्रदान गरिएको विद्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुश्मा नगरपालिका वडा न. १२ का वडा अध्यक्ष भिमप्रसाद गुरुङ्गले शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावकबीच त्रिकोणात्मक सम्वन्ध हुनुपर्ने बताउनुभयो । उहाँले वडामा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा समाजसेवी मिनबहादुर गुरुङ्ग, संरक्षक चन्द्रसुर्य गुरुङ्ग, सरेश गुरुङ्ग, कमल गुरुङ्ग लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत विद्यालयका प्रद्यानाध्यापक अर्जन शर्मा र संचालन शिक्षक दिपक भुसालले गर्नुभएको थियो । सोहि अवसरमा मेखबहादुर गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ ।