९ भदौ
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले धौलागिरी क्षेत्रको विकासको लागि राजनीतिक पूर्वाग्रह नराख्न आग्रह गर्नुभएको छ ।
धौलागिरी समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले राजनीतिलगायत आ-आफ्नो क्षेत्रमा प्रतिस्पर्धा भएपनि विकासबारे सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले धौलागिरी भेगीय रुपमा पछाडि परेको देखिएपनि प्राकृतिक रुपमा अनुपम र धनी रहेको उल्लेख गर्नुभयो ।
‘यसअघि धौलागिरी अञ्चलअन्तर्गत रहेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला जलस्रोत, पर्यटन तथा धार्मिक रुपमा धनी छ,’ उहाँले भन्नुभयो, ‘तर यसको समुचित प्रयोग र प्रवर्द्धनको नहुँदा पछाडि परेको छ।’
अध्यक्ष तिमिल्सिनाले सडकमार्फत यो क्षेत्रलाई मध्यपहाडी लोकमार्गमार्फत पूर्व-पश्चिम र कालिगण्डकी करिडोरमार्फत उत्तर दक्षिण जोडिने भएकाले विकासमा पछाडि नपर्ने बनाउनुभयो ।
त्यसैगरी धार्मिक रुपमा अनगिन्ति गन्तब्य र जलस्रोतमा कालिगण्डकी, उत्तरगंगा र विद्युत उत्पादनमा मोदी खोला अगाडि रहेको बताउनुभयो ।
सो क्षेत्रका नेता, पूर्वकर्मचारी, कर्मचारी, बुद्धिजिवी, व्यवसायीलगायत सहभागी कार्यक्रममा धौलागिरी क्षेत्रको गुरुयोजना तयार पारी समृद्ध बनाउन सबै आ-आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभयो ।









