५ भदौ
पर्वत ।शान्ति सुरक्षाका लागि ४ वर्षअघि वर्षअघि कुश्मामा जडान गरिएका सीसी टीभी क्यामेरा बिग्रिन थालेका छन् । उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको प्रयासमा जडान गरिएका सीसी क्यामेराले बजारको सुरक्षामा सहज भएको थियो ।
मुख्य चोक र बढी संवेदनशील क्षेत्रकै क्यामेरा बिग्रिएपछि प्रहरीलाई अहिले भएका आपराधिक गतिविधि नियन्त्रणमा असहज भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार लोकतन्त्रचोक, प्रगतिचोक, मैत्रीचोक र फिल्महल चोकका क्यामेरा बिग्रिएका छन् । त्यस्तै बडागाउँको अस्पताल चोक, दुर्लुङचोक, जिरो किलोमिटरका २ सहित ८ क्यामेरा बिग्रिएका छन् । स्थानीयले विद्युत् जडान गर्न नदिँदा बान्द्रेबिंडी चौरको क्यामेराले काम गरेको छैन ।
‘सीसी क्यामेराले काम गर्ने बेलासम्म धेरै घटना त्यसकै सहयोगमा पत्ता लाग्थे,’ प्रहरी प्रमुख डीएसपी भुवनेश्वर तिवारीले भने, ‘अहिले मुख्य–मुख्य चोककै बिग्रिएका छन् । धेरै समस्या भएको छ ।’ अघिल्लो वर्ष भएका ४ घटनाको अनुसन्धानमा प्रहरीलाई सीसी क्यामेराको फुटेजले ठूलो मद्दत मिलेको थियो । मैत्रीचोक नजिकै बिहीबार एक सुनपसलमा भएको चोरीको घटना सीसी क्यामेराकै अभावमा अझै पत्ता लगाउन गाह्रो भएको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए ।
कुश्माका मुख्यमुख्य चोकमा २९ सीसी क्यामेरा जडान गरिएका थिए। कुश्मामा शाखा रहेका वाणिज्य तथा विकास बैंक, सहकारी, व्यवसायी तथा स्थानीय बासिन्दाको सहयोग संकलन गरी करिब ३० लाखमा क्यामेरा जडान गरिएका अध्यक्ष शर्मा बताउँछन्। ‘उतिबेला सीसी क्यामेरा भनेपछि सबै उत्साहित भए,’ उनले भने, ‘त्यसको दिगो सञ्चालनमा कसैको ध्यानै गएन । अब नगरपालिकाले चासो दिनुपर्छ ।’ बिग्रिएका मध्ये तीनवटा मर्मतका लागि पठाइएको प्रहरीले जनाएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रले आयोजना गरेको नागरिक सुनुवाइमा समेत क्यामेराबारे धेरैले जिज्ञासा राखेका थिए ।
त्यस्तै कुश्मा–ज्ञादी, कुश्मा–मुडिकुवा र कुश्मा–बलेवा आकाशे पुलमा समेत सीसी क्यामेरा जडान गर्न नगरपालिकालाई सुझाइएको छ। कार्यक्रममा कुश्माका जनप्रतिनिधिहरूले बजारमा बिग्रिएका र अग्ला पुलहरूमा सीसी क्यामेरा जोड्न आवश्यक गृहकार्य भइरहेको बताएका थिए ।साभार-कान्तिपुर दैनिकवाट









