४ भाद्र
काठमाडौं– ‘घटना शंकास्पद देखियो, हामी गहिरो अनुसन्धानमा छौं’, फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्याको खबरपछि महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भन्दै थिए,‘यस्ता घटनाको अनुसन्धान गर्ने आफ्नै पद्धति हुन्छ, हामी त्यही अनुसार अघि बढ्छौं।’

आइतबार बेलुका खाना खाएर काठमाडौं बबरमहलस्थित आफ्नै घरको कोठामा सुतेका पूर्वराजदूत केशव झाको हत्या भएको खबर परिवारले सोमबार बिहान मात्र थाहा पाएको भनिएको छ। प्रहरीका अनुसार झा सुतेको कोठा बाहिरबाट बन्द थियो। दोस्रो तलाको एउटा कोठमा सुतेको कोठाको झ्यालकाे जाली काटिएको छ। घटनास्थलबाट एक चक्कु समेत फेला पारेको दाबी प्रहरीको छ।

यस्तो घटनाको अनुसन्धान कसरी हुन्छ?

प्रहरीका अनुसार यस्तो घटनामा सबैभन्दा पहिला घटनास्थलमा रहेका प्रमाण संकलन गरिन्छ। वस्तुस्थिति अवलोकन हुन्छ। परिवारका सदस्य र घरमा रहेका व्यक्तिहरुसँग प्रारम्भिक सोधपुछ हुन्छ। ‘प्रहरीले सबै तथ्यको विश्लेषण सुरु गर्छ र हात लागेको ‘क्लू’का आधारमा अनुसन्धानलाई अघि बढाउँछ’, एक प्रहरी अधिकृतले नेपाल लाइभलाई बताए, ‘झाको हत्या नै भएको हो भन्नेमा प्रहरी पुगेको छ र उनको घरमा उनीसँगै बस्दै आएकी श्रीमती र घरेलु सहयोगीहरुसँग सोधपुछ चलिरहेको छ।’