२० साउन
कुश्मा नगरपालिका–९ वाचौपारिका शिक्षक शिवप्रसाद पौडेल विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । कटुवा चौपारीस्थित गायत्री घर भई पर्वतकै मोदी गाउँपालिका–६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानाध्यापक ५९ वर्षीय शिवप्रसाद पौडेल शुक्रबार बिहानदेखि बेपत्ता भएका हुन् । शुक्रबार बिहान घरभन्दा केही माथि रहेको मन्दिरमा पूजापाठ गर्न भनी गएका पौडेल आज साँझसम्म घर फर्किएका छैनन् ।
विगत १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका पौडेल घर नफर्केपछि उनका भाइ दिवाकर पौडेलले खोजीमा सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् ।
शनिबार विहान सम्म आफन्तहरु समेत सोधपुछ गर्दा कुनै अत्तोपत्तो नभएपछि खोजि कार्यका लागि प्रहरीलाई अनुरोध गरेको निवेदक दिवाकर पौडेलले जानकारी दिए । उनले घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नरहेको स्पष्ट पारे ।
जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी दिलिप घिमिरेले निवेदनका आधारमा वेपत्ता शिक्षक पौडेलको खोजि कार्य जारी राखिएको बताए । बेपत्ता शिक्षक पौडेलका १ छोरा र १ छोरी छन् । छोरा वैदेशिक रोजगारका शिलशिलामा दुवईमा रहँदै आएका छन् भने छोरीको बिवाह भइसकेको छ ।









