२३ असोज जुम्ला : खानेपानीको धाराबाट सर्प र भ्यागुता निस्किन थालेपछि खलंगावासी त्रसित भएका छन् । चन्दननाथ नगरपालिका-२ की आश्मा माझी शनिबार बिहान पानी भर्न धारा गइन् । बिहान ८ बजेतिर बाल्टी लिएर जाँदा धाराबाट सर्प निस्केपछि उनको सातो नै गयो । ‘घरमा पानी थिएन, बाल्टी लिएर धारामा पानी भर्न गएकी थिएँ’, उनले भनिन्, ‘तर, पानी आउने धाराबाट एक्कासि दुई मिटर लामो सर्प निस्केपछि मेरो त सातो नै गयो, हतपत दौडेर घरमा आएँ र सबैलाई जानकारी गराएँ ।’
माझीले सर्प आएको कुरा सबैलाई थाहा दिएपछि वरपरका सबैले पानी भर्न सकेनन् । धाराबाट निस्केको सर्प विषालु भएको हुन सक्ने भन्दै खोलीकोटका अधिकांशले शनिबार बिहान पानी नै भरेनन् । केही समयअघि पनि सोही धाराबाट भ्यागुता निस्किएको माझीले सुनाइन् । ‘पटक-पटक भ्यागुता र सर्प निस्किने गर्छ’, माझीका श्रीमान् रमेश सेजुवालले भने, ‘अबचाहिँ हामीलाई पानी खान पनि डर लागेको छ ।’
ढाड थपला खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई यसबारे भन्दा ‘पानी खान मन नभए खोलामा जान’ चेतावनीसमेत दिने गरेको सेजुवालको भनाइ छ । ‘हामीले उपभोक्ता समितिका अध्यक्षलाई यसबारे सुधार गर्न पटक-पटक सुझाएका छौं’, उनले भने, ‘तर, अध्यक्षले हामीलाई सबैले यस्तै पानी खाइरहेका छन् तपार्इंहरूलाई खान मन नभए खोलामा जानुहोस् भन्छन् ।’
तीन वर्षअघि खलंगा खानेपानीको ट्यांकीमा एक व्यक्ति शवसमेत भेटिएको थियो । त्यस बेला खलंगावासी सोही ट्यांकीको पानी खान बाध्य भएका थिए । एक महिनापछि पाएर गलेको अवस्थामा शव निकालिएको थियो । चिकित्सकका अनुसार जुम्ला सदरमुकाममा खानेपानीको अवस्था राम्रो छैन । मुहान नै दूषित हुनुका साथै बीच-बीचमा पाइप फुटेका कारण सर्प तथा भ्यागुता भित्र पस्ने गरेका छन् ।
ढाड थपला खानेपानी उपभोक्ता समितिका अध्यक्ष भक्त भग्रीले खानेपानीको नयाँ पाइप बिच्छ्याउने काम चलिरहेकाले बीच-बीचमा छुटेका ठाउँबाट सर्प र भ्यागुता पसेको हुन सक्ने बताए । हाल खानेपानीको मुहान तारजालीसहित सुरक्षित बनाइएकाले आगामी दिनमा यस्ता घटना नदोहोरिने अध्यक्ष भग्रीको भनाइ छ । यद्यपि, खानेपानी शुद्धीकरणका लागि भने कुनै आधुनिक प्रविधि नभएको उनले खुलाए । साढे ६ सय उपभोक्ता रहेको उक्त खानेपानी आयोजनाको रिजर्भ ट्यांकी अभावमा खानेपानीसमेत पर्याप्त मात्रामा पुर्याउन नसकिएको समितिले जनाएको छ ।








