सतिश रेग्मी
जेठ २७, २०७८
पर्वत : पर्वत सदरमुकाम कुस्मा बजारमा रहेको एभरेस्ट बैङ्कको अगाडि गत सोमबार भिडभाड देखिन्थ्यो । लकडाउनका कारण बजार बन्द भएको बेलामा साथीहरू मिलेर हिँडेको देख्दा पनि प्रहरीले सोधपुछ गरी समूहमा नहिँड्न भनिरहेको थियो । तर पालो अनुसार खुलेका कुश्माका बैङ्कहरुमा देखिएको भिडले भने निषेधाज्ञा र कोरोनाको जोखिमलाई नै गिज्याइरहेको देखिन्थ्यो ।
लामो समयसम्म बैङ्कहरू बन्द रहँदै आएकोमा पालो अनुसार बैङ्क खुलाउन थालिएपछि त्यही मौका छोपेर पैसा निकाल्न जानेहरूको भिडभाड भएको हो। निषेधाज्ञाका कारण घरमा रहेको अलिअलि पैसा खर्च भएको र अब गुजारा चलाउन पैसा नै नभएका कारण खातामा रहेको पैसा निकाल्नको लागि बैङ्कमा पुगेकाहरूले बताए ।
‘कोरोना छ, गर्मी छ, गाडी चल्दैन, हिँडेरै यहाँसम्म आएको हुँ बाबु । घरमा पैसो सैसो छैन । ब्याङ्क खुलेको थाहा पाएसी अलिअलि भएको निकालेर खेताला मिलाम्ला भनेर आएको ।’ लाइनमा उभिएका कुश्मा नगरपालिकाका ज्येष्ठ नागरिक हरिप्रसाद शर्माले भने, ‘मास्क लगाएको छु, केही नहोला नि । बैङ्कमा नआई घर खर्ची चलेन ।’
बैङ्कहरूमा भीड बढेको विषयमा जिल्ला प्रशासनमा समेत सूचना आएपछि मङ्गलवारबाटै यसको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । ‘बैङ्कमा भिडभाड बढेको भन्ने सूचना हामीकहाँ आएको थियो । त्यस अगाडि म आफै बजारमा निस्किएर बंैकहरुमा पनि पुग्ने गरेकी थिएँ । अवस्था ठिकै थियो । तर सोमबार अलि बढी भएछ ।’ उनले भनिन, ‘मैले डिएसपी सापसँग कुरा गरिसकेकी छु । सूचना आएपछिका दिनबाट बिहान १० बजेबाट बैङ्कहरूमा निगरानी हुने गरेको छ । सेवाग्राही उभिनको लागि गोला बनाएर राखेको हुनुपर्छ । तोकिए अनुसारको भौतिक दूरी कायम भएकै हुनुपर्छ ।’
बजारमा बस्दै आएकाहरूले फाटफुट बैङ्क खुलेको बेलामा कारोबार गरेको तथा धेरैले एटिएम कार्डको प्रयोग गर्ने गरेका भए पनि ग्रामीण क्षेत्रका धेरै नागरिक चेकबाट नै कारोबार गर्छन् । जसका कारण बैङ्क खुलेको थाहा भएपछि बैङ्कमा एकै पटक भिडभाड हुने गरेको छ । बर्खा याम लाग्न लागेको र लामो समयको बन्दका कारण ग्रामीण क्षेत्रका बासिन्दा पैसा निकाल्नको लागि बजारमा आउँदा पनि भिड बढेको प्रजिअ खत्रीको भनाई छ । खेती लगाउनको लागि विदेशबाट आउने रेमिटेन्स यही समयमा बढी हुने भएका कारण पनि गाउँबाट बजार झर्नेहरूको सङ्ख्या धेरै भएको हो ।
लामो समयको बन्दाका कारण नागरिक समस्यामा परेको भए पनि बैङ्कहरूमा भएको भीडले लामो समय सुरक्षित रहेको पर्वत जिल्ला जोखिममा जान सक्ने कुश्मा नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटा बताउँछन् । नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि गाउँ गाउँमा पुगेर टेस्ट गरिरहेको बेलामा सदरमुकामकै बैङ्कहरूमा भएको भिडभाडले कोरोनालाई गिज्याएको जस्तो लागेको उनको भनाई छ ।
‘हामी भने कोरोना नियन्त्रण गर्न गाउँ गाउँमा पुग्ने, टेस्ट गर्ने, अनुसन्धान गर्ने। फ्रन्टलाइनमा रहेर जोखिम मोल्ने। अनि बजारका बैङ्कमा त्यत्रो भिड? यसरी पनि कोरोना नियन्त्रण हुन्छ र ? मान्छेले नबुझेको हो की ? नटेरेको ?’ उनले भने, ‘एउटा गाउँको मान्छेमा सङ्क्रमण भए बैङ्कका कर्मचारी हुँदै अर्को गाउँसम्म कोरोना पुग्छ । निषेधाज्ञाका कारण अहिलेसम्म सुरक्षित रहेको जिल्लामा यही कारण सङ्क्रमण फैलियो भने अवस्था के होला ?’
जिल्लामा कोरोना सङ्क्रमणको अवस्था दोस्रो लहरको सुरुवाती अवस्थाभन्दा केही नियन्त्रित भएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकबाट पालो अनुसार बैङ्क खुला गरेर सेवा प्रदान गर्ने निर्णय भएको थियो । बैङ्कहरू ठप्प रहँदा आर्थिक क्रियाकलाप ठप्प हुनुका साथै नागरिकको जीवन नै कष्टकर भएका कारण केही घण्टाका लागि भए पनि बैङ्क खुलाउनु परेको थियो ।
सदरमुकाम कुश्मा बजारमा रहेका बैङ्कहरूलाई बार अनुसार खोल्न भनिएको छ । खुल्ने समय बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म तोकिएको छ। एनआइसी एसिया, सेन्चुरी कमर्सियल, कामना सेवा, मेगा, प्रभु र मुक्तिनाथ बैङ्कका लागि आइतबार र बुधवार, प्राइम कमर्सियल, माछापुच्छ्रे, गरिमा विकास, एभरेस्ट र सनराइजका लागि सोमबार र बिहीबार, कुमारी, कृषि विकास, ग्लोबल आईएमई, नेपाल बङ्गलादेश, साङ्ग्रिला विकास बैङ्कलाई मङ्गलवार र शुक्रवार तथा नेपाल बैङ्क लिमिटेडलाई आइतबार, मङ्गलवार र शुक्रवारको समय तोकिएको छ ।