१७ वैशाख
पर्वत । ‘नेपालमा गरिबी रहेसम्म गरिबी बिरुद्धको हाम्रो लडाई जारी रहने छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालले आफ्नो २९ औँ स्थापना दिवस विविध सप्ताहव्यापी रूपमा कार्यक्रमहरू गरेर मनाइरहेको छ।
संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईँको आइतबार परेको ५३ औँ जन्मोत्सवको समेत अवसर पारेर विभिन्न कार्यक्रमहरू गरेको छ ।
आइतबार बिहान संस्थाको २९ औँ साधारण सभा सम्पन्न गरेको छ । दिउसोबाट सप्ताहव्यापी कार्यक्रमहरूको शुभारम्भ गरेको छ ।

उद्घाटन सत्रमा आर्थिक समस्याका कारण उपचारमा समस्यामा परेकाहरू, आगलागी पीडित लगायतलाई न्यूनतम १० हजार देखि माथी सहयोग गरेको छ । नागरिकलाई स्वस्थ राख्न नियमित योगा सञ्चालनको लागि हिमालयन सिद्ध महायोग केन्द्र पर्वत शाखालाई नेष्डोका संस्थापक अध्यक्ष प्रसाईँले व्यक्तिगत रूपमा एक लाख रुपैयाँ सहयोग गरेका छन्। सोही अवसरमा विभिन्न प्रदेशका केही सामाजिक अभियान्ताहरु, कलाकारिताको क्षेत्रमा आफ्नै जिल्लामा रहेर काम गरेका केही कलाकारहरूलाई, सम्मान गरेको छ ।

साताव्यापी कार्यक्रम अन्तर्गत मानव सेवा आश्रममा खाद्यान्न सामग्री तथा मानवीय राहत सहयोग हस्तान्तरण गरेको छ ।
भोलि पर्वत अस्पतालमा, बिरामीलाई फलफूल वितरण, मजदुर दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने, अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्ने, शैक्षिक सहयोग, ज्येष्ठ नागरिक सम्मान तथा गुरु सम्मान कार्यक्रम राखिएका छन्। मोदी गाउँपालिका—५ बाजुङमा आयोजना हुने कार्यक्रममा उक्त वडाका नौ ओटै विद्यालयका सबै बालबालिकाहरूलाई झोला सहितका शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम छ। जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासत कक्षलाई थप व्यवस्थित बनाउन केही सामग्रीहरू हस्तान्तरण पनि गरिने नेष्डोका संस्थापक अध्यक्ष प्रसाईँले जानकारी दिए।










