१६ मंसीर

बर्दिया । एमाले उपाध्यक्ष बामदेव गौतमले एमाले र माओवादीभित्र प्रधानन्त्रीको योग्य उम्मेदवार आफुबाहेक अरु कोही नभएको बताएका छन् ।

बर्दियामा आयोजित कार्यक्रममा उनले आफू जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्र कोही नरहेको बताएका हुन् । गौतमले अबको प्रधानमन्त्री आफू नै बन्ने जिकिर पनि गरे ।

बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका गौतमले भनेका छन्, ‘वामपन्थी उम्मेदवाहरुले जित्ने पक्का भइसक्यो । बाम गठबन्धनप्रति जनताको लहर आएको छ । त्यसैले चुनाव जित्छौँ । चुनाव जितेपछि प्रधानमन्त्रीको योग्य उम्मेदवार म नै हुँ ।’

उनले केन्द्रमा माओवादीसँग गठबन्धन भए पनि तल्लो तहमा माओवादीका कार्यकर्ताले एमालेलाई मतदान गर्दैनन भन्नु परिवर्तन विरोधी प्रचार भएको  बताएका छन्  ।

एकता भन्ने कुरा आफूलाई राम्रोसँग थाहा भएको भन्दै उनले थपे,‘ मैले २० वटा पार्टी एकता गराइसकेको छु । फेरि पनि मेरै कारणले एमाले र माओवादी एकता हुन लागेको छ ।  एकता कसरी गर्नुपर्छ मलाई थाहा छ ।’ वाम गठबन्धनको दुई तिहाई बहुमत आउने जिकिर गरेका गौतमले अब मुलुक साम्यवादको बाटोमा गएको धारणा राखे ।