२३ जेठ
तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य प्रतिवादी चुडामणि उप्रेती गोरेका प्रमुख सहयोगी रामकुमार तिवारी पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाका अधिकारी र गोरेबीचको टेलिफोन सम्बादमा बारम्बार नाम लिएइका तिवारी दक्षिण कोरियाबाट फर्के लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।
महाशाखाका डिएसपी प्रजित केसी र गोरेको टेलिफोन सम्बादमा तत्काल ५० लाख भुक्तानी दिने ब्यक्तिका रुपमा नाम लिएका तिवारी मे २१ मा कोरिया गएर मंगलबार फर्किएका थिए। उनले गोरेले भने बमोजिम रकम महाशाखाका अधिकारीलाई दिए/नदिएको अनुसन्धान भइरहेका बेला तिवारी पक्राउ परेका हुन्।
काभ्रेका स्थायी निवासी ४३ वर्षीय तिवारीलाई समितिका सदस्य भिष्म हुमागाईको नेतृत्वमा विमानस्थल पुगेको टोलीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको समिती स्रोतले जनाएको छ। ‘तिवारी बाहिर गएका थिए हामीले वाच गरिरहेका थियाैं’, सुन तस्करी अनुसन्धान समिति सदस्य एसएसपी बसन्त लामाले भने, ‘तिवारीका विषयमा थप साेधखाेज भइरहेकाे छ।’









