१८ जेठ
ईच्छा गर्भको चर्चा छ नेपालमा अहिले । महिलाले आफ्नो ईच्छा अनुसार गर्भाधारण गर्न पाउनु पर्ने र गर्भाधारणको लागि ‘बिहे’ अनिवार्य नहुने नया कानुन सदनमा पेश हुन लागेको चर्चाले पत्रपत्रिका हरु रंगीन भएका छन् ।
सताब्दियौं देखि कोखमा पुरुष हरुले अधिकार जमाएका छन् । पुरुष हरुले कब्जा जमाए भनेर आरोप पनि नलगाउं पुरुषवादी सोच बोकेको मानाशिकताले कब्जा जमाएको छ कोखमा । बिहे भएको दिन देखिनै यौटी नव दुलहीलाई सन्तान जन्माउने दवाव दिन सुरु गरिन्छ र त्यो दवाव सबै भन्दा पहिला महिला द्वारा नै दिईन्छ । सासु, अमाजु, जेठानी या यस्तै केहि नाता बाट मात्र नभएर आफ्नै आमा बाट समेत “छोरो पाएस” अथवा “अर्को बर्ष तीनजना भएको देख्न पाइयोस” भन्ने सुभकामना हरु आउन सुरु गर्छन ।
बिहेको पहिलो या दोश्रो बर्ष भित्र सन्तान जन्माउन नसके या त पुरुषको पुरुषत्व मा अथवा महिलाको कोखको फर्टिलिटिमा शंका गर्न सुरु भैहाल्छ । छिमेकी र आफन्तका कुरा सुनेर आजित भएका नव विवाहिता जोडीहरु आफ्नै शरीर माथि शंका गर्छन र अरुलाई देखाउनकै लागी समेत सन्तान जन्माउनै पर्ने अवस्थामा पुग्ने गरेका छन् ।
हाम्रो समाजले यौनलाई वर्जित गरेको छैन । काम बासनालाई पौराणिक काल देखि नै व्याख्या गरिदै आइएको छ । कामवासनाका देवता ‘कामदेव’ र उनकी श्रीमती ‘रति’को बारेमा लामा लामा कथा हरु पढ्न पाइन्छ हाम्रा धर्म ग्रन्थ हरुमा । प्रवचन हरुमा कामशक्ति, प्रजनन र सन्तान उत्पत्तिको बिषयमा राम्रै कुरा हरु गरिएको पाइन्छ तर जति कुरा हरु गरिन्छन ति सबैमा पुरुष एकाधिकार रहेको हुन्छ । आफ्नो श्रीमानको ईच्छा अनुसार सन्तान प्रदान गर्नु मात्र महिलाको कर्तब्य भए जसरि धर्मग्रन्थ हरुमा वर्णन गरिएको पाइन्छ कतै भने अविवाहित युवती हरुले आफ्नो कोखबाट बच्चा जन्माएको अथवा बहु पुरुष संसर्ग बाट सन्तान जन्माएको भएपनि त्यो जन्म विर्य प्रदाता पुरुष कै अभिष्ट अनुसार जन्माउनु परेको र आजीवन ‘कन्या’ भएर रहनु परेका दृष्टान्त हरु पढ्न समेत पाइन्छ ।
सामाजिक मर्यादा र स्वास्थ्य लाइ मध्यनजर राखेर यौन सम्पर्कलाई सिमित प्रयोगको कुराको रुपमा व्याख्या गरेको छ हाम्रो समाजले । निश्चित समयमा र निश्चित व्यक्तिको बिचमा निश्चित उद्देश्यका साथ् गरिने कर्मको रुपमा परिभाषित गरिएको छ समागम लाइ । हिन्दु धर्म ग्रन्थहरुका अनुसार सन्तान प्राप्तिको लागि महिला र पुरुषमा सहवास हुनु पर्दछ ति महिला र पुरुष श्रीमान र श्रीमती नै हुनु पर्दछ । श्रीमान र श्रीमती बाहेक बाहिर भएको सहवासलाइ न कानुनले मान्यता दिन्छ न समाजले नै त्यसलाई स्वीकार्दछ ।

सरकारले सन्तान जन्माउनको लागि बिहे आवस्यक नपर्ने कानुनको मस्यौदा तयार पारेको छ रे भन्ने सुन्नमा आयो । अति राम्रो पक्ष हो यो । आफ्नो कोख प्रयोग गरेर आफ्नै लागि आफ्नो ईच्छा अनुसारको सन्तान जन्माउन र एकल रहेर पनि सन्तान प्रतिको उत्तरदायित्व पुरा गर्न सक्छु भन्ने स्वाभिमानी नारि हरुको लागि यो खुशीको कुरा हो तर कोख महिलाको शरीरमा रहेको भएपनि कोखको प्रयोग महिलाको अधिकार क्षेत्र भन्दा बाहिरको कुरा हुन पुगेको छ । गर्भाधारण प्रत्यक्ष यौन संग जोडिएको बिषय र यौन चरित्र संग जोडिएको कुरा भएको कारणले पनि बिबाह भन्दा बाहिरको गर्भाधारण लाइ हाम्रो समाजले मान्यता दिदैन ।
तर के आफ्नो ईच्छा अनुसार सन्तान जन्माएका एकल आमा हरुलाई हाम्रो समाजले सम्मानित स्थान प्रदान गर्ला त रु अन्तरजातीय बिबाह गरेकी अथवा वाध्यताले बहु बिबाह गर्न परेकी महिला लाइ त बराबरीको स्थान दिन मान्दैन समाजले भने अविवाहित अवस्थामा सन्तान जन्माएकी महिला लाइ समाजले सुख संग बाँच्न देला त रु
एउटी एकल आमालाई आफ्ना सन्तानलाई समाजमा स्थापीत गराउन कति संघर्ष गर्नु पर्दछ त्यसका उदाहरण हरु हाम्रो समाजमा जतासुकै देख्न पाइन्छ । पुरुषको खराव आचरणको कारणले, पुरुषले बहुबिवाह गरेको कारणले अथवा अन्य घरेलु हिंसाको कारणले पारपाचुके गरेर अलग्गै संघर्ष गरेर आफ्ना सन्तान हुर्काइ रहेकी महिलाका सन्तानले अहिलेसम्म पनि आमाको नाम बाट नागरिकता पाउन सकेका छैनन् । बाल बच्चा हुर्काउन जिन्दगि भरि कुनै उत्तरदायित्व बहन नगरेको र आफ्नो कर्तव्यलाई चटक्कै छाडेर परस्त्री संग घरबार गरिसकेको बाउ लाइ नै खोज्दछ कानुनले नागरिकता दिने बेलामा ।
स्पाम बैंक बाट महिला गर्भवती हुन सक्छिन तर नागरिकता रु नागरिकतामा बाबुको रुपमा स्पाम डोनरको नाम लेख्ने कि गर्भाधान गराइदिने अस्पतालको नाम लेख्ने रु यो कानुन बन्नु अगाडी बच्चाले आमाको नाम बाट नागरिकता पाउने अधिकारको सुनिश्चितता गरियो भने मात्र समाजले स्वेच्छाले गर्भाधारण गरेका महिला लाइ बाँच्न देला अथवा तव मात्र कानुन कार्यान्वयन हुन सक्ला नत्र प्रसासन कार्यालय बाट त्यस्ती महिला अपमानित भएर फर्कनु पर्ने र समाजमा तिरस्कृत भएर बाच्न पर्ने अवस्था नआउला भन्न सकिदैन ।
चौध बर्षमा बिबाह भएर पन्द्र बर्षमा बच्चा जन्माउन अभिशप्त महिला हरुले किशोरवय अवस्थामै कोखको स्वामित्व गुमाइसकेका हुन्छन त्यतिले मात्र कहाँ मान्छ र यो समाजले । पहिलो सन्तान हुर्कन पाएको हुँदैन दोश्रो सन्तान जन्माउने दवाव सुरु भई सक्छ । अझ पहिलो सन्तान छोरी भयो भने त दोश्रो सन्तान जसरि पनि छोरा नै जन्माउन पर्ने जिम्मेवारी समेत त्यहि अबोध कोखमा थोपरिन्छ ।
दोश्रो सन्तान छोरा नभएको खण्डमा पटक पटक कैंची चलाएर छिया छिया पारिन्छ त्यहि बिचरो कोखलाइ । कति अवोध छोरी हरु जो अर्को कोख लिएर यो धर्तीमा आउदै गरेका हुन्छन तिनीहरुको घाँटी कोख मै निचोरिन्छ र मृत्युको मुखमा धकेलिन्छ । यसरि गर्भ पतनको लागी पुरुष हरु मात्र दोषी हुदैनन् महिलाको दिमागमा सताब्दियौं देखि जरा गाडेर बसेको पुरुष सन्तान मोहको कारण महिला हरुनै आफ्नो कोखमा कैंची चलाउन उद्दत रहेको देख्न सकिन्छ ।
कोखमा कब्जाको शृंखला त्यहीं रोकिदैन । हाम्रो देशमा रहेका तमाम एकल आमा हरुको प्रतिनिधि कथा त झन् डरलाग्दो रहेको छ । जुनसुकै कारणले छुट्टिनु परेको किन नहोस अथवा कानुनि रुपमै लोग्ने संग अलग्गिएर बसेको किन नहोस एकल आमाहरुको कोखमा कुनै न कुनै कोण बाट पुरुष हरुको हैकम चलिरहेको हुन्छ ।
सन्तान जन्माएर आफ्नो दायीत्व भुलेका बाबु हरुले समेत जव एकल आमाले हुर्काएका छोराछोरी हरुको नागरिकता बनाउने बेला हुन्छ त्यो बेलामा सम्पूर्ण अधिकार आफुमा निहित रहेजस्तो गरेर अधिकार जमाउछन छोराछोरीको कागज पत्र माथि । विदेश जाने बेला भयो पुरुषकै तीनपुस्ते अगाडी लगाउन पर्ने छ अवस्था त्यो बेलामा यौटी आमाले जिन्दगि भरि गरेको मेहनत र छोराछोरी पढाउन बगाएको पसिनाको कतिसम्म अबमुल्यन भएको हुन्छ भन्ने कुरा जोसुकैले अनुभव गर्न सक्दैन । त्यो बेलामा ति सन्तान जन्माउन यौटी आमाले बेहोरेको प्रशव बेदना र गर्भमा बच्चा बोकेर हिड्दा भएको पीडाको कति अपमान भएको हुन्छ भन्नेकुरा शब्दमा बयान गर्न सकिदैन ।

न कतै रोएर न कसैसंग दुख देखाएर नै छोराछोरीको कागज पत्रमा यौटी आमाले स्वेच्छाले आफ्नो नाम लेखाउन पाउछिन । कानुनले पनि पुरुषहरुकै भाषा बुझ्दछ र पुरुष हरुकै बोलि बोल्दछ त्यसैले त छोरा छोरीले चिन्दै नचिनेको मान्छेको नामले नागरिकतामा मान्यता पाउछ । यो कब्जा पनि त कोखकै कब्जा हो ।
म त भगवान संग प्रार्थना नै गर्दछु कि यो संसारमा कसैलाई एकल आमा हुन नपरोस । एकल आमा हुनु जस्तो पीडादायी अनुभव अरु केहि हुदैन । आफ्नो कुनै पनि गल्ति नहुदा नहुदै एकल हुन पुगेका ति तमाम आमा हरुको कोखमा कहिले नागरिकताको नाममा कहिले छोराछोरीको नागरिकताको नाममा कहिले स्कुल सर्टिफिकेटको नाममा बारम्बार कब्जा भईरहेको हुन्छ । अरु कुनै बहानामा कब्जा गर्न नसकीए चरित्रमा दाग लगाइदिएरै पनि सन्तुष्ट हुन्छ समाज । हुन त नखाएको बिष लाग्दैन भन्छन भन्ने हरु कतिपय अवस्थामा नखाएको बिष लागेर घाइते भएका आमा हरु भेटिन्छन बग्रेल्ती यहि दुनियामा ।
छोराछोरीको यौटा टुक्रो कागजमा आफ्नो नाम लेखाउन नपाएका अभिशप्त आमा हरुलाई के महत्व भयो र ईच्छा गर्भको रु आफ्नै कोख प्रयोग भएको मूल्य हरेक क्षण बेहोर्न परेका आमाहरुलाई के फाइदा गर्यो र ईच्छा गर्भको कानुनले रु तर आशा गरौँ समाज फेरिएला समाजको सोच फेरिएला र आगामी पुस्ताका आमाहरुले स्वेच्छाको जिन्दगि जिउने अवशर पाउलान अथवा आफ्नो कोखलाई आफ्नो इच्छा अनुसार प्रयोग गर्न पाउलान –समाजलाई नयाँ कानुनको शुभकामना ।