१८ जेठ
पर्वत । नेपाली चलचित्र लम्फूले राम्रो सफलता हासिल गरेको निर्माण पक्षले दावी गरेको छ । देशका विभिन्न शहरमा प्रदर्शन भैसकेको चलचित्रले दर्शकहरुलाई प्रर्याप्त सन्तुष्टि मिलेको प्रतिक्रिया पाइएको दावी निर्माण पक्षले जनाएको छ ।
बिहिवार कुश्मामा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले अहिले सम्मको प्रतिक्रिया सन्तोषजनक रहेको बताउनुभयो । यो चलचित्र देशका ८० वटा चलचित्र हलमा प्रर्दशन भएको थियो । चलचित्रले अहिलेसम्म कति कमाई गर्यो भन्ने बारेमा एकिकृत नभएकाले एकिन गर्न नसकिए पनि लगानी उठिसकेको निर्देशक लामिछानेले बताउनुभयो ।
गत हप्ता गरिएको ‘च्यारेटी सो ’ मा चलचित्रलाई पर्वतका दर्शकले राम्रो प्रतिकृया दिएको उनले बताए । पर्वतका अधिकाँश पर्यटकिय क्षेत्रको दृश्य चलचित्रमा कैद गरिएको छ । समग्र चलचित्रको ४५ प्रतिशत भाग पर्वतमा छायाड्कन गरिएको थियो । पर्वतको पर्यटन प्रबर्दन गर्न पनि चलचित्र सफल भएको लामिछानेले दावी गर्नुभयो । यो चलचित्र पश्चिम क्षेत्रमा भन्दा पूर्वका क्षेत्रमा बढि मन पराइएको आफुले पाएको लामिछानेले बताउनुभयो ।
पत्रकार सम्मेलनमा ‘च्यारेटी सो ’ गरे वापत १ लाख ३५ हजारको आम्दानी भएको पर्वत मिलन क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठले बताउनुभयो । उहाँले चलचित्र लम्फूले समाजिक र समसामयिक कथाको चित्रण गरेको बताउनुभयो । चलचित्र लम्फू मा यहाँका करिब २० जना स्थानीय कलाकारहरुलाई समेटिएको छ ।

कलाकार छनोट समितिका संयोजक झलक कार्कीका अनुसार अभिनयमा स्थानीय कलाकारहरु सहित तरकारीवाली अर्थात कुसुम श्रेष्ठ, मरिस्का पोखरेल लगायतका कलाकारहरुको भूमिका दर्शकहरुले मन पराएको बताउनुभयो ।









