१५ जेठ
काठमाडौं, दुई साताअघि काठमाडौंमा एउटा जबर्जस्त खबर फैलियो – सरकारले प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको परम्परा तोड्दैछ । अनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा त्यहीँभित्रका वरिष्ठ आयुक्तलाई होइन, बाहिरबाट कुनै पूर्वप्रशासकलाई लगिँदैछ ।
सीमित सञ्चारमाध्ययमले त हाल चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई अख्तियार प्रमुखको जिम्मेवारी दिन लागिएको समाचार सम्प्रेषण गरे । अनि कतिपय सञ्चार माध्ययमले सरकारले हालका कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई होइन, उनी पछिका वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न खोज्दैछ भनेर लेख्न भ्याए ।
यी समाचारलाई बल पुर्याउने गरी यसबीचमा दुई किसिमका रोचक घटना भए । एउटा प्रधानन्याधशीको लाइनमा रहेका कामु प्रधानन्यायाधीश जोशी प्रमुख दलका शीर्ष नेतालाई भेट्न पुगे र त्यो खबर मिडियामा चुहियो । अर्को, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल बेइजिङबाट एकाएक काठमाडौं आइपुगे । यी दुवै घटनाले बाघ कराउनु र वाख्रा हराउनुको उक्तिलाई सतहमा ल्याइदिए । आशंकालाई मलजल भयो ।
प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्तिका विषयमा अनेकन आशंका गरिनुका पछाडि केही कारण अवश्य छन् । प्रमुख कारण हुन् – दुवैको नियुक्तिमा ढिला भइसकेको छ ।
प्रधानन्यायाधीशको पद औपचारिक रूपमा गएको वैशाख १६ देखि रिक्त छ भने अख्तियार प्रमुखको पद फागुनदेखि खाली छ ।
प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्ति समयमै किन हुन सकेन ? के सरकार प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको परम्परा तोड्न चाहन्छ ? या अख्तियारको प्रमुखमा बाहिरबाट कसैलाई लान खोज्दैछ ? यी जिज्ञासा आमपाठकमा व्याप्त छ । शहरका चोक चोकमा यो विषयमा अहिले पनि टिकाटिप्पणी सुनिन्छ ।
‘सरकार परम्पार तोड्ने, रोलक्रममा रहेकालाई पन्छाउने र त्यसपछिकालाई काखी च्याप्ने तयारीमा छैन । बाहिर गरिएको प्रचार गलत हो,‘संसदीय सुनुवाइ विशेष समिति गठन भएपछि दुवै निकायमा तत्काल नियुक्ति हुन्छ । जो–जो लाइनमा हुनुहुन्छ, उहाँहरूको नियुक्ति हुन्छ । अन्यथा हुँदैन ।’
गोपाल पराजुलीले राजीनामा दिएपछि सर्वोच्चमा प्रधानन्यायाधीश पद रिक्त हुन पुगेको थियो । उनले वैशाख १६ मा अनिवार्य अवकाश पाउँदै थिए । तर न्यायपरिषद्ले उनको जन्ममितिमा खोट देखाउँदै गएको साउनमै अवकाश पाएको पत्र थमाएपछि पराजुलीले अनिवार्य अवकाश हुनु एक महिनाअगावै राष्ट्रपति समक्ष राजीनामा बुझाए ।
त्यस्तै नवीनकुमार घिमिरे हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कामु प्रमुख आयुक्तका रूपमा कार्यरत छन् । यसअघिका प्रमुख आयुक्त दीप बस्न्यातले अवकाश पाएपछि घिमिरेले कामु प्रमुख आयुक्तको जिम्मेवारी पाएका थिए । घिमिरेलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने तयारी रहेको सरकारी स्रोतको भनाइ छ ।
‘सरकरको अहिलेको तयारी र सोच अख्तियार प्रमुखमा घिमिरेलाई नियुक्त गर्ने नै हो,’ स्रोतले भन्यो, ‘बाहिरवाट लैजाने विषयमा कुनै छलफल, तयारी वा सम्भावना छैन ।’
उता, हालका कामु प्रधानन्यायाधीश जोशीचाहिँ कानुन विषयको अध्यापनमा लामो अनुभव भएका व्यक्ति हुन् । उनी करीब ६ वर्षअघि सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए ।









