१५ जेठ
काठमाडौं,शनिबार मात्रै झरना थापाको निर्देशन रहने सिनेमा ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका अभिनेता अनमोल केसीले निर्देशक मिलन चाम्सको आउने अर्को सिनेमा पनि काम गर्ने भएका छन् । यो सिनेमाको नाम भने अहिले खुलाइएको छैन । नाम नखुलाइएको यो सिनेमाको सम्पूर्ण छायांकन नेपाल बाहिर हुनेछ । सिनेमाको कथा अत्यन्तै मन परेका कारण आफूले यो सिनेमामा काम गर्ने भएको अनमोलले बताएका छन् । तीन करोडको बजेटमा बन्ने यो सिनेमामा मिलनले अनमोलको जोडीको रुपमा पुरानै नायिका राख्ने निर्णय गरेका छन् । यद्यपि कसलाई राख्ने भन्नेमा अझै टुंगो लागेको छैन ।

भर्खरैमात्र दुईवटा सिनेमा फाइनल गरेका अनमोलले हिन्दी सिनेमामा पनि अभिनय गर्ने भएका छन् । उनले हिन्दी सिनेमाको लागि पनि मोटो रकम लिएको जनाएका छन् ।

अनमोलले अभिनय गर्ने भनिएको सिनेमा हिन्दी र नेपाली भाषामा बन्ने छ, जसलाई चर्चित भारतीय निर्माताले बनाउन लागेका हुन् । तर कुन निर्माताले यो सिनेमा निर्माण गर्न लागेका हुन् त्यसको जानकारी निर्माण पक्षले केही दिनपछि पत्रकार सम्मेलन गरेर दिने बताएको छ ।

यो सिनेमामा दुई जना अभिनेत्रीको मुख्य भूमिका रहनेछ । सिनेमामा एक जना बलिउड अभिनेत्री एक जना नेपाली अभिनेत्री रहने बताइएको छ । सिनेमामा बलिउड अभिनेता ज्याकी श्राफले पनि काम गर्ने चर्चा भैरहेको छ । अनमोलको सिने करिअरका लागि यो सिनेमा विशेष रहनेछ ।