८ जेठ
काठमाडौं । नेपाल महिला संघका अध्यक्षले अव्यवहारिक र एकलौटी ढंगले गरेको पदाधिकारी र केन्द्रिय सदस्यको मनोनयन तत्काल फिर्ता लिन माग गरिएको छ । मंगलवार नेपाल महिला संघका महासचिव धना खतिवडा र कोषाध्यक्ष जानकी सिंहले विज्ञप्ति जारि गर्दै संवाद मार्फत आन्तरिक समस्या समाधान गर्न माग गरेका छन् । उनिहरुले नेपाल महिला संघमा देखिएको पछिल्लो विवादलाई आपसी समझदारीबाट टुंग्याउँनु पर्ने आफ्नो मागलाई वेवास्ता गरिएको प्रति गम्भिर भएको जनाएका छन् ।

विज्ञप्तिमा ‘नेपाल महिला संघको अध्यक्षले अत्यन्त स्वेच्छाचारी ढंगबाट केन्द्रीय पदाधिकारी र सदस्यहरुको मनोनयन गरे पश्चात नै हामीले मर्यादित ढंगबाट सो निर्णयको पुनर्विचार गर्न आग्रह गरेका थियौ । साथै, पार्टी नेतृत्वलाई समेत हाम्रो असहमतिका बारे प्रष्ट पारिसकेका छौ । तर हाम्रो शालीन प्रस्तुतिलाई कमजोरी ठानी लोकतान्त्रिक मुल्य र मान्यताको समेत बेवास्ता गर्दै निरन्तर एकलौटी नियुक्तिको शृखंला जारी राखि अध्यक्ष स्वयम सांगठनिक जिम्मेवारीबाट च्यूत हुदै गएको देख्दा हामी दुःखित भएका छौ उल्लेख छ।’