४ जेठ
रामेछाप । रामेछापमा एक प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरी पिसाब खुवाएका छन् । लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबलबहादुर तिमिल्सिनाले एक विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएका हुन् ।

प्रधानाध्यापक तिमिल्सेनाले कक्षा ७ मा अध्ययनरत बुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब खुवाएका हुन् । पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

जेठ १ गते उनीहरुलाई प्रधानाध्यापक तिमिल्सिनाले उछृङ्खल गतिविधि गरेको भन्दै कुटपिट गर्दै पिसाब खुवाएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले जानकारी दिए । तर प्रधानाध्यापक तिमिल्सिनाले भने उनीहरुलाई सामान्य कारबाही गरिएको दाबी गरेका छन् ।

वुद्ध, लाक्पा र गणेश बुढाथोकीले आफ्नै साथी साङविर तामाङलाई मिनरल वाटर बोतलमा पिसाब र थुक मिसाएर खुवाएको विद्यालय प्रशासनमा खबर आयो । त्यसपछि उनीहरुलाई कारबाहीस्वरुप त्यही पानी पिउन दिएको र नमानेपछि पाइपको टुक्राले हिर्काएको तिमिल्सिनाले बताए ।