१ जेठ
रौतहट : प्रदेश २ का सांसद कुन्दन कुशवाहलाई गैरकानुनी रुपले वन पैदवार ओसारपसार गरेको आरोपमा पक्राउ गर्न जिल्ला अदालत गौरले जिल्ला प्रहरीलाई पत्राचार गरेको छ ।
कुशवाहको मुद्दामा अदालतले २०७३ असार ३ गते चालक मानन्धरलाई दोषी ठहर गर्दै ट्रकधनी साह र काठधनी कुशवाहलाई सफाई दिएको थियो । उक्त फैसलाको पुनरावेदन अदालत हेटौंडामा अपिल हुँदा चालक एउटैले धेरै परिणामको वनपैदवार ओसार पसार गर्न नसक्ने ठहर गर्दै जिल्ला अदालत बाराको फैसला उल्टाई सांसद कुशवाहलाई समेत एक वर्षको सजाय सुनाइएको थियो ।
कुशवाह माओवादी केन्द्रबाट रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनको वन कसुरको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै पक्राउ पूर्जी जारी भएको छ ।
बिना इजाजत वन पैदवार ओसारपसारमा संलग्न रहेको भन्दै पुनरावेदन अदालत हेटौंडाको फैसला अनुसार एक वर्ष जेल सजाय सुनाएको सदस्य कुशवाहलाई पक्राउ गर्न अदालतले बैशाख १९ गते जिल्ला प्रहरीको नाममा पत्र पठाएको हो ।
बाराको साविक पिपरा सिमरास्थित पथलैया चोकमा सवारी चेकजाँचका क्रममा २०६९ असोज २ गते बिहान जिल्लाको कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा अनुमति बिनाको सालको चिरान काठ २ सय ६५ थानको ४ सय ६९ क्यूफिट र ८ क्विन्टल स्ट्रिप बरामद भएको थियो। त्रिपालले छोपेको ट्रकका बारे प्रहरीले शंका गरेर चेक गर्दा सालको चिरान काठ बरामद गरेको थियो।
उक्त काठ कटहरियास्थित न्यू एभरेष्ट स मिलका काठधनी कुन्दनप्रसाद कुशवाहको रहेको चालक मानन्धरको बयानमा उल्लेख छ । उनले अवैध काठका बारेमा कुनै जानकारी नभएकाले लोड गरेको बताएका छन् ।









