२२ वैशाख

झापा। महाधिवेशन भएको दुई महिना भित्र गर्नुपर्ने पदाधिकारी मनोनयन दुई बर्षपछि पनि विवादका बीच भएकोमा कांग्रेस नेता कृष्ण सिटौलाले दुख व्यक्त गरेका छन्। स्थानीय पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस नेता सिटौलाले पदाधिकारी मनोनयनको विषयमा सभापति शेर बहादुर देउवाले विगतका अभ्यासहरुलाई लत्याएको भन्दै दुख व्यक्त गरेका हुन्।

फरक मत राख्नेहरुलाई पूर्ण रुपमा निषेध झै गरेर एकलौटी गर्न खोजेको सभापति देउवाको व्यवहारले देखाएको सिटौलाले बताए। भर्खर सम्पन्न केन्द्रीय समितिको वैठकमा उठाइएका विषयहरुलाई समेत नजरअन्दाज गर्दै सभापति जान खोजेको देखिएको सिटौलाको बुझाइ छ। चुनावमा पार्टी हारको बारेमा भएको समिक्षा पछि पार्टीलाई एकतावद्ध बनाएर लैजान सभापति पहल गर्नुहोला भन्ने अपेक्षा सभापतिको व्यवहारबाट भत्किएको उनको भनाइ छ। सभापति देउवाको व्यवहारबाट कार्यकर्ताहरुमा निराशा थप पैदा हुने अवस्था आएको सिटौलाले बताए। उनले भने, ‘ अहिलेको अवस्थामा पनि देउवाजीले नचेतेको देख्दा आश्चर्यचकित र दुखित छु।’

तत्कालिन सभापति सुशील कोइरालाले पदाधिकारीमा मनोनित गर्ने प्रस्ताव गर्दा देउवाजीहरुकै विरोधमा हुन नसकेपछि सोहि प्रस्ताव ६ महिनापछि संसोधित रुपमा केन्द्रीय समितिबाट पारित गरेको सिटौलाले स्मरण गरे। ६ महिना ढीलो गरि पारित भएको कोइरालाको प्रस्तावबाट सिटौला महामन्त्री भएका थिए। तत्कालिन वरिष्ठ नेता रहेका देउवाले सभापति कोइरालासँग गरेको प्रस्ताव अनुसार सहमहामन्त्री पूर्ण बहादुर खड्कालाई बनाइएको थियो। पदाधिकारी बनाउने हतारो भएपनि सबैलाई मिलाउने प्रयास अन्तर्गत कोइरालाले ६ महिना समय लिएको इतिहासलाई विर्सेर देउवाले फरक मत राख्नेहरुलाई पेल्ने नियत देखाएको सिटौलाले बताए।

विवादका बीच पार्टी नेपाली पदाधिकारी मनोनयन गरेकोमा नेपाली कांग्रेसको शुक्रवार बसेको केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पुर्ण बहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशसरण महत मनोनित गरेका हुन्।

वरिष्ठ नेता पौडेल पक्षले भने निर्वाचित भएको दुई महिना भित्र गर्नु पर्ने मनोनयन अहिले आएर गर्नु बिधान बिपरित रहेको  जनाएको छ। पदाधिकारी मनोनित गर्न डाकिएको कांग्रेस केन्द्रीय समिति बैठक नै अबैधानिक भएको आरोप कांग्रेस नेता प्रकाशमान सिहले लगाए ।