२१ वैशाख, काठमाडौं । सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ ।

काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् ।

प्रदेश ५ को राजधानी बटवलमा पनि बन्दको प्रभाव परेको छ । सडकहरु र बसपार्कसमेत सुनसान देखिएका छन् । यातायात व्यवसायीको हड्तालको प्रभाव प्रदेश नंं ५ का जिल्लाहरुमा पनि परेको छ ।

प्रदेश ५ को अस्थायी राजधानी बुटवलस्थित लुम्बिनी बस टर्मिटनलबाट प्रदेश ५ का १२ वटै जिल्लामा सवारी साधन छुट्ने गरेकामा हड्तालका कारण यातायात व्यवसायीका संघ/समितिहरुले बस/जीप चलाएका छैनन् ।

बस टर्मिनलभित्र रहेका पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात, बुटवल यातायात, गुल्मी यातायात, सुपा देउराली यातायात लगायतका बस तथा जीप समितिले आफ्ना टिकट काउन्टरहरु बन्द गरेर बसपार्क खाली गराएका छन् । बुटवलको नयाँ बसपार्कमा एउटा पनि सवारी साधन छैन ।

पाल्पाको श्रीनगर बस समितिले पनि बस चलाएको छैन । २४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले प्रदेश ५ का सबै जिल्लामा बस सञ्चालन गरिरहेको थियो भने अन्य समितिले जिल्ला-जिल्लामा चलाइरहेका थिए ।

बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । बसबाट स्कूल कलेज जाने विद्यार्थीहरु पनि हड्तालले समस्यामा परेका छन् ।