२७ माघ
काठमाडौं। खासगरि कुनै पनि राजनीतिक पार्टीको आन्तरिक राजनीतिक निर्णय र प्रक्रिया आम नागरिक र अन्य दल तथा नेताहरुको लागि खासै चासोको विषय नहुन पनि सक्छ। तर महत्वपूर्ण राजनीतिक निर्णय लिदा कस्तो अभ्यास गरिन्छ त्यो भने सबैको लागि चासो बिषय हुन सक्छ भन्ने उदाहरण एमालेले प्रदेशको मुख्य मन्त्रीको उमेद्वारको रुपमा हेरिएको संसदीय दलको नेताको चुनावमा देखिएको छ।
खासगरि प्रदेश नम्वर १ र ३ मा एमालेका संसदीय दलका उमेद्वार छान्ने प्रक्रिया र त्यस प्रक्रियालाई अपनाउन गरिएका पहल अनि त्यसको परिणामले एमाले वृत्तमा मात्र हैन पार्टी एकताको प्रक्रियामा रहको भनिएको माओवादी भित्र पनि निकै वहश गर्माएको छ।
माओवादीसँगको सहकार्यका क्रममा एमालेले आफ्नो भागमा पाएको ४ वटा प्रदेशको मुख्यमन्त्री मध्ये प्रदेश ५मा शंकर पोखरेल संसदीय दलमा निर्विरोध भएर मुख्यमन्त्रीको लागि पक्का गरे। वाँकी रहेका १, ३ र ४ मा भने संसदीय दलको नेता छान्ने प्रक्रियाले एमालेको आन्तरिक जीवनको जगलाई नै हल्लाइदिएको छ। एमालेको जग नै हल्लिदा त्यसको पराकम्पले माओवादी केन्द्रलाई पनि केहि न केहि प्रभाव पारेको देखिन्छ।
एमालेका दुई प्रभावशाली नेताहरु पार्टीको आन्तरिक जीवनमा पराजीत भए। प्रदेश नम्वर १मा पार्टी सचिव भिम आचार्य पोलिटव्यूरो सदस्य शेरधन राईसँग हारे। आचार्य माधव नेपाल पक्षधर हुन भने राई केपी ओली पक्षधर। चुनावमा आचार्यलाई नेपालका अतिरिक्त झलनाथ खनाल र वामदेव गौतमले पनि समर्थन गरेको बताइएपनि ओली निकट राईले नै जीते।
प्रदेश नम्वर ३ मा एमाले प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको रुपमा हेरिएको थियो। पार्टीको प्रदेश प्रमुख नै संसदीय दलको नेता बन्न चाहेपछि उनीलाई नै मुख्यमन्त्रीको रुपमा हेरीएको थियो। तर ओलीले हेटौडाका आफ्ना खास मान्छे डोरमणी पौडेललाई उठाएर पार्टीको प्रदेश प्रमुख शाक्यलाई नै हराइदिए।
एमालेमा लामो राजनीतिक जीवन रहेको शाक्य एमालेका नेता अमृत वोहोराकी पत्नी पनि हुन्। उनलाई माधव नेपाल र झलनाथ खनालको पनि समर्थन रहेको बताइएको थियो। तर उनी पनि चुनावमा हारिन।
चुनावमा पराजय व्यहोरे लगत्तै उनले आफूलाई अध्यक्ष ओलीले झुक्याएर धोका दिएको मात्र नभइ आफूलाई अपमान गरेको बताइन। उनले अध्यक्षले आफूलाई गुटगत राजनीतिको शिकार बनाएर एमालेले पहिलो महिला मुख्यमन्त्री बनाउने अवसर गुमाएको समेत बताइन। अध्यक्ष ओलीले चरम गुटवन्दी गरेर आफूलाई मुख्यमन्त्री हन नदिएको टिप्पणी गर्दै उनले आफ्नो राजनीतिक जीवनको पनि खिल्ली उडाएको शाक्यले कडा प्रतिक्रिया दिइन। हाम्राकूरा वाट








