१८ माघ
नुवाकोट: नुवाकोटको पाटीपानीमा रुखले किचेर वुधवार एक वृद्धाको ज्यान गएको छ । नुवाकोट–वागेश्वरी सडक अन्तर्गत विदुर नगरपालिका –२ पाटीपानीमा काटिएको रुखले थिचेर स्थानीय ८९ वर्षिया युकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

स्थानीय गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिसको रुख काट्ने क्रममा घरदेखि १५ मिटरको दुरीमा रहेकी वृद्धा शाहीको रुखले लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । प्रहरीले रुख काट्ने ठेक्का पाएका जीवन तिमिल्सिना सहित ६ जना कामदारलाई पक्राउ गरेको छ ।

लापरवाही एवं जोखिमपूर्ण रुपमा रुख काटेका कारण वृद्धाको ज्यान गएको भन्दै मृतकका आफन्त तथा स्थानीय आक्रोशित छन् । लापरवाही गर्नेलाई कारबाहीको माग गर्दै स्थानीयले शव उठाउन नदिएको वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए ।