देउपूर पर्बत, १७ श्रावण नेपाल रेडक्रस सोसाइटी अन्तराष्ट्रीय युबा समन्वय परियोजना (IYCP) अन्तर्गत समुदाय स्तरीय कार्यक्रम अभिमुखीकरण तथा समन्वय बैठक सोमबार मोदी गाउँ पालिका वडा नं २ देउपुरमा सम्पन्न भएको छ । जापानीज़ रेडक्रस सोसाइटीको सहयोग र नेपाल रेडक्रस सोसाइटी पर्बत शाखाको आयोजनामा सो कार्यक्रम गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल रेडक्रस सोसाइटी पर्बत शाखाका सभापति रुद्र बहादुर रिमालले मोदी गाउँ पालिकाका वडाहरुलाई पूर्ण सरसफाई युक्त बनाउनको लागि वडाबासी सबै नागरिक हरुलाई सचेत र जिम्मेबार बनाउदै अभियानकै रुपमा अगाडि बढ्नु पर्ने बिचार ब्यक्त गर्नु भयो ।

त्यसै गरी कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा बोल्दै मोदी गाउँ पालिका अध्यक्ष प्रेम पौडेलले बाल मैत्री वाताबरण निर्माण र पूर्ण सरसफाई कार्यक्रमको सफल कार्यांन्वयन र स्थायित्वको लागि गाउँ पालिकाले महत्वका साथ आबश्यक भूमिका बहन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

जिल्लाको मोदी गाउँ पालिकाका वडा नं २,३ र ५ मा खानेपानी, सरसफाई र स्वास्थ्यको क्षेत्रमा काम गर्ने गरी संचालन भइरहेको उक्त परियोजनाले आगामी तीन बर्ष भित्र तीन वटै वडाहरुलाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गर्ने लक्ष्यका साथ बालबालिकाहरुको ब्यबहार परिबर्तन गर्ने ,सरसफाइ मैत्री पुर्बाधार निर्माण गर्ने, सरसफाइ जन्य रोगहरुमा कमी ल्याउने, र संस्थागत क्षमता बिकास गर्ने, तीन वडाका २४ बिद्यालयहरुमा केन्द्रित रही पूर्ण सरसफाई कार्यक्रम शुरू गर्न लागिएको  परीयोजनाका कार्यक्रम अधिकृत प्रेम केसीले जानकारी दिनुभयाे ।

सो कार्यक्रममा मोदी गाउँ पालिका का उपाध्यक्ष सेती महत, वडा नं २ का अध्यक्ष बिकास तिमिल्सिना, वडा नं ३ का अध्यक्ष देबेन्द्र बहादुर क्षेत्री, जननेत्र माबिका बिब्यस अध्यक्ष दाताराम चापागाई, हिमालय माबिका प्रअ एकनाथ शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेरेसो पर्बत का उपमन्त्री पिताम्बर अधिकारी, बिभिन्न राजनीतिक दलका स्थानीय प्रमुख एबं प्रतिनिधिहरु, नव निर्बाचित वडा सदस्यहरु, बिभिन्न बिद्यालयका अध्यक्ष, प्रअ, शिक्षक नायक र जुरेस पधाधिकारीहरु , बिभिन्न संघ संस्थाका पधाधिकारीहरु, वडा सचिबहरु, स्वास्थ्य चौकीका प्रमुखहरु, स्वयंसेविकाहरु, समाजसेवीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी देउपुर तिलाहार उपशाखाका सभापति ओम बहादुर घर्ति क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाई स्वागत उपशाखाका सचिब देबराज गिरीले र संचालन जननेत्र माबिका सहायक प्रधानध्यापक भुमिराज शर्माले गर्नु भएको थियो ।