१७ माघ

काठमाडौं : कलंकीस्थित सगुन होटलमा जुवा खेलिरहेका जुवाडेलाई नियन्त्रणमा लिनुको साटो उल्टै धम्क्याएर पैसा लुटेपछि प्रहरीका सई र जवान कारबाहीमा परेका छन्। सोमबारपीडित जुवाडे मोबाइल खोज्दै कालिमाटी वृत्तमा पुगेपछि घटनाको पोल खुलेको हो।

होटलमा जुवा खेल्दै गरेको सूचना पाएपछि सई मदनबहादुर मल्ल र जवान मनोहर बुढा पुगेका थिए। जुवाडेलाई उनीहरुले ‘सामान र पैसा छाडेर भाग’ भन्दै जुवा खालमा रहेको साढे चार लाख रुपैयाँ र मोबाइल लिएर मल्ल र बुढा होटलबाट निस्किएका थिए। प्रभाग थानकोटमा कार्यरत उनीहरुले पैसा र मोबाइल लुटेरा शैलीमा लगेपछि पीडित कालिमाटी वृत्तमा पुगेका थिए।

कालिमाटी वृत्तले अनुसन्धानका क्रममा मल्ल र बुढाको संलग्नता खुलेपछि उनीहरुलाई कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको थियो। प्रहरीले मल्लको साथबाट एक लाख ३५ हजार रुपैयाँ, बुढाको साथबाट १२ हजार रुपैयाँ र लुटिएको मोबाइल बरामद गरेको छ।

परिसर टेकुले बुढालाई निलम्बन गरेको छ भने सई मल्ललाई निलम्बनको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्र पठाएको छ।

महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले जुवाडेबाट लुटपाट गरेको घटनामा सई मल्ल र जवान बुढालाई कारबाही गरिएको बताए। उनले भने, ‘जुवा खालबाट पैसा लुटपाट गरेको भन्दै परिसर टेकुले कारबाहिका लागि पत्र पठाएको छ। निलम्बनपछि उनीहरुमाथि अनुसन्धान भइरहेको छ।’अन्नपूर्णपोष्ट अनलाईनवाट