२० पुष
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किम जोङ उनबीच एकअर्कालाई धम्क्याउने क्रम अझै रोकिएको छैन । यता किमले ट्रम्पलाई ‘अमेरिका उडाउने बटन मेरो टेबल अगाडि छ’ भनेका थिए भने त्यसको जवाफमा ट्रम्पले पनि ‘हामीसँग त्यो भन्दा ठूलो बटन छ र त्यसले राम्रोसँग काम गर्छ’ भन्दै ट्वीटरमार्फत आक्रोश पोखे । यसरी यी दुई देशमा दुश्मनी लगातार बढ्दै गइरहेको छ भने किमले दक्षिण तर्फ चाहिँ केही नम्रता अपनाइरहेका छन् ।
दक्षिण कोरियामा हुने आगामी ओलम्पिक्स खेलमा उत्तर कोरियाले पनि सहभागीता जनाउने भएकाले २ वर्षपछि यी दुई देशबीच औपचारिक छलफल हुन लागेको बताइएको छ । अहिले उत्तर कोरियाले बोर्डरको हटलाइन पनि उपलब्ध गराएकाले यिनीहरुले खेलका बारेमा एकअर्कासँग फोनमार्फत पनि सम्पर्क गर्न मिल्ने भएको दक्षिणका अधिकारीले बताएका छन् । लामो समयदेखि सम्पर्कबिहिन भएको उत्तर कोरियाले पहिलोपटक दक्षिणका अधिकारीसँग शान्तिपूर्ण वार्ता गर्न हात अघि बढाइरहेको छ ।
यस्तोमा दक्षिण कोरिया र उत्तरका बीचमा हुन लागेको शान्तिपूर्ण मेलमिलाप कार्यक्रमप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भिन्दै धारणा व्यक्त गरेका छन् । उनका अनुसार आफूहरुले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध र अन्य दबाबका कारण अहिले उत्तर कोरिया आफैँ दक्षिणसँग वार्ता गर्न राजी भएको हो । आफूले अपनाएको तरिकाले राम्रो परीणाम दिएको भन्दै ट्रम्पले यसप्रति सन्तुष्टि व्यक्त गरेका हुन् ।
यसबारेमा ट्रम्पले यस्तो ट्वीट गरेका छन्, ‘कडा प्रतिबन्धपछिको आर्थिक दबाब सुरु भएदेखि नै उत्तर कोरियाका सैनिकहरु भयानक तरिकाले दक्षिण भाग्दै गरेको पाइयो र अहिले रकेट म्यान आफैँले पहिलोपटक दक्षिण कोरियासँग वार्ता गर्ने प्रस्ताव राखिरहेका छन् । यस्तोमा यसलाई शुभ समाचारका रुपमा लिने नलिने हामीलाई चाँडै नै थाहा हुन्छ ।’
यता अमेरिकी राष्ट्रिय विभागकी प्रवक्ता हेदर नउर्टले भने दक्षिण कोरियाको शान्तिपूर्ण भेटवार्तामा किमले कतिको इमानदारीता देखाउँछन् भन्नेमा अझै शंका रहेको बताएकी छन् । दक्षिण कोरियाले भने उत्तरका तर्फबाट आएको प्रस्तावलाई तुरुन्तै स्वीकार गर्दै वार्ताको कार्यक्रम अघि बढाउने निर्णय गरिसकेको छ । दक्षिण कोरिया र उत्तर कोरियाको सम्बन्धमा सुधार आउने हो भने यसले पक्का पनि अमेरिकालाई प्रभाव पार्नेे विश्वविद्हरुको अनुमान छ ।








