२६ मंसीर

काठमाडौँ । चुनावको परिणाम अन्तिम चरणमा पुगेको छ । नेकपा एमाले र माओवादी केन्द्रको बहुमत पुग्ने भएको छ । तर, सामानुपातिकको मत गणना सकिएपछि मात्रै दुई तिहाईबारे भन्न सकिन्छ ।

दुबै पार्टीबीच एकता र सरकार निर्माण सँगसँगै हुने नेताहरुले बताइरहेका छन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुने सम्भवना अनुमान गरिएको छ । पार्टीको संसदीय दलको नेता भएका कारणले पनि ओली नै आगामी सरकार नेतृत्वकर्ता हुनेमा धेरै शंका छैन । एमाले र माओवादी केन्द्रका नेताहरुले अब लगत्तै पार्टी एकता हुने र प्रचण्ड र ओलीमध्ये एक जना पार्टी अध्यक्ष र अर्को जना प्रधानमन्त्री हुने बताइरहेका छन् । तर यसैबीचमा एमाले अध्यक्ष ओलीको फरक धारणा बाहिर आएको मोओवादी केन्द्रका नेता कार्यकर्ताहरूको दाबी छ ।

ओलीको भनाईसँगै मंगलबार माओवादी केन्द्रका नेता कार्यकर्ताले सामाजिक संजालमा खैलाबैला मच्चाएका छन् । ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुन सक्ने भन्दै आन्तरिक पार्टीपंक्तिसँग सर्कुलेसन गरेको खुलासा भएको भन्दै माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा चर्का चर्का स्टाटसहरू पोष्ट गर्न थालेका छन्।

सामाजिक संजाल फेसबुकमा सक्रिय हुने माओवादी केन्द्रका युवा नेता जागृत रायमाझीले पोष्ट गरेसँगै सम्भावित एकताबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् । ओलीले पछिल्लो भनाईले एमालेले सजिलै पार्टी नेतृत्व प्रचण्डलाई नदिने देखिएको छ ।
त्यसकारण कतिपय माओवादी नेताहरूले त्यसको खुलेरै बिरोध गर्न नसके पनि व्यंग्यात्मकरुपमा बिरोध गरिरहेका छन् ।