२४ मंसिर, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापालाई पराजित गर्दै एमालेका कृष्णप्रसाद दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट जितेका दाहालले हालका ऊर्जामन्त्री थापाविरुद्ध जितको ह्याट्रिक पुरा गरेका छन् ।
दाहालले ५ हजार ९७३ मतान्तरले थापालाई हराएका हुन् । दाहलले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६५८ मत मात्रै पाए ।राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गरेर उनी तेस्रोपटक सांसद बनेका छन् । ०४८ र ०५६ सालको निर्वाचनमा उनी सांसदमा निर्वाचित भएका थिए भने ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग हारेका थिए ।निर्वाचन पूर्वसन्ध्यामा ऊर्जामन्त्री रहेका थापाले हेटौंडा बजारबाट राजमार्ग सार्ने निर्णय गराएपछि दाहाललाई थापाविरुद्ध जित निकाल्न असहज हुने अनुमान गरिएको थियो ।
यसपटक बाम गठबन्धनको साझा उम्मेदवार बनेका दाहालले कांग्रेसाग गठबन्धन गरेका थापालाई पराजित गरेका हुन् ।
विसं. ०२० सालमा जन्मिएका दाहाल २०३७ सालको विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका हुन् । दाहाललाई अब कमल थापालाई तेस्रोपटक हराउँदै सांसद बन्ने अवसर छ ।
४३ मा तत्कालीन ठिंगन गाविसका जनपक्षीय प्रधानपञ्च समेत बनेका दाहालले एमाले मकवानपुरमा चार कार्यकाल नेतृत्व गरेका छन् । उनले ०५४ देखि ०६६ सम्म निरन्तर एमाले मकवानपुरको नेतृत्व सम्हालेका थिए । अनलाईनखवरवाट








