१७ मंसीर
काठमाडौं,पार्टी केन्द्रीय समितिबाट मुख्य तीन दलमध्ये कांग्रेसले सबैभन्दा बढी उम्मेदवार पठाएको छ। कांग्रेसका ५० केन्द्रीय नेता प्रत्यक्षतर्फको चुनावी दौडमा छन्। यो कांग्रेसको केन्द्रीय समितिकै ६६ दशमलव ६६ प्रतिशत हो।
पार्टी सभापतिदेखि केन्द्रीय समितिका अधिकांश नेता प्रत्यक्षतर्फ मैदानमा छन्। केन्द्रीय सचिवालयबाट माओवादीले भने ४१ नेतालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। यो माओवादीको केन्द्रीय सचिवालयको ४३ दशमलव १५ प्रतिशत हो।
एमालेले पार्टी केन्द्रीय समितिका ३४ दशमलव ८२ प्रतिशत नेतालाई मात्रै प्रत्यक्षमा चुनाव लडाएको छ। उसका ७० जना नेता प्रत्यक्षमा चुनाव लडेका छन्।
त्यस्तै समानुपातिक तर्फ केन्द्रीय समितिबाट सबैभन्दा बढी माओवादी केन्द्रले उम्मेदवार बनाएको छ। माओवादीका २६ दशमलव ३१ प्रतिशत अर्थात् २५ नेता समानुपातिक तर्फका प्रदेश तथा प्रतिनिधीसभाका उम्मेदवार छन्। माओवादीका सचिवालय सदस्य मणि थापा, जयपुरी घर्ती, तिलक परियार, हितराज पाण्डे, पूर्वसभामुख ओनसरी घर्तीलगायतका नेता समानुपातिक तर्फका उम्मेदवार छन्।
दोश्रोमा एमालेले कुल केन्द्रीय समितिको २१ दशमलव ३९ प्रतिशत अर्थात् ४३ नेतालाई समानुपातिक तर्फका उम्मेदवार बनाएको छ। एमालेले मुकुन्द न्यौपाने केन्द्रीय लेखा परीक्षण आयोग अध्यक्ष डा पुष्प कँडेल, सोमनाथ प्यासी पोलिटब्यूरो सदस्य थममाया थापा, विन्दा पाण्डे, राधा ज्ञावाली, रामप्रित पासवानलगायतका नेतालाई समानुपातिक उम्मेदवार बनाएको छ।
कांग्रेसले भने १२ केन्द्रीय नेतालाई मात्रै समानुपातिक तर्फ उम्मेदवार बनाएको छ। यो कांग्रेसको केन्द्रीय समितिको १६ प्रतिशत हो। कांग्रेसले पार्टी कोषाध्यक्ष सीतादेवी यादव , केन्द्रीय सदस्य बलकृष्ण खाँण, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, मीन विश्वकर्मा, पर्वता डिसी चौधरी, बाहादुर सिंह तामाङलगायतका नेतालाई समानुपातिकमा राखेको छ।








