४ मंसीर

पुससम्ममा १ सय ५० स्थानीय तहमा वाणिज्य बैंक पुग्ने –

नेपाल बंगलादेश बैंकले एक साताभित्रै बैंक तथा वित्तीय संस्था नपुगेका पूर्वी र पश्चिमी पहाडका तीन–तीनवटा गाउँपालिकामा शाखा स्थापना गर्ने भएको छ । पूर्वमा धनकुटा, संखुवासभा र पाँचथर तथा पश्चिममा जुम्ला र अर्घाखाँचीका गाउँपालिकाहरूमा शाखा स्थापना गर्ने अन्तिम तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

सिटिजन्स बैंकले भर्खरै हुम्लाको सर्केगाड र बर्दियाको बढैया तालमा शाखा सञ्चालनमा ल्याएको छ । सिटिजन्सले झापाको हल्दिबारी, महोत्तरीको औरही र दाङको बंगलाचुलीमा पनि शाखा विस्तार गरेको छ । त्यस्तै, एनआइसी एसियाले हालै बाँकेको खजुरा, मोरङको कानेपोखरी, भोजपुरको चेंगबेनी, जुम्लाको चन्दननाथ, महोत्तरीको बर्दिवास, जाजरकोट, मुसिकोट, प्युठानमा शाखा विस्तार गरेको छ । प्रभु बैंकले कैलालीको बौनिया र पाँचथरको फिदिममा शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल बंगलादेश, सिटिजन्स, प्रभु र एनआइसी एसियाले मात्रै होइन, अहिले अधिकांश वाणिज्य बैंकले बैंक तथा वित्तीय संस्था नपुगेका स्थानमा धमाधम शाखा विस्तार गर्न थालेका छन् । सरकारको नीति तथा राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले ७७ (नवलपरासी र रुकुमको विभाजनपछि) वटै जिल्लाका गाउँपालिकामा धमाधम शाखा खोल्ने कार्य अघि बढाएको बैंकर्स संघका उपाध्यक्ष ढुंगानाले बताए ।

पुससम्ममा १ सय ५० शाखा विस्तार
स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने सरकारको नीति तथा राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो चरणमा १ सय ५० स्थानीय तहमा शाखा स्थापनाको कार्य अघि बढिरहेको ढुंगानाले बताए । ‘अहिले बैंक तथा वित्तीय संस्था नपुगेका स्थानीय तहमा शाखा विस्तारको कार्य धमाधम अघि बढिरहेको छ,’ उनले भने, ‘पुस मसान्तसम्ममा १ सय ५० स्थानीय तहमा शाखा स्थापना भइसक्ने देखिएको छ ।’ बैंकहरूले अहिले स्थानीय तहमा शाखा स्थापनाका लागि स्थान खोज्ने, घर भाडामा लिने, नेटवर्क जोड्ने, स्थानीय सरकारसँग समन्वय गर्नेलगायतका काम गरिरहेको उनले बताए ।

दोस्रो चरणमा १ सय शाखा
स्थानीय तहमा पहिलो चरणमा १ सय ५० शाखा स्थापना भएपछि दोस्रो चरणमा थप १ सय शाखा स्थापना हुनेछन् । नेपाल बैंकर्स संघले ४६ वटा नगरपालिका र २ सय ४ वटा गाउँपालिकामा वाणिज्य बैंकका शाखा खोल्न सहमति गरिसकेको छ । सोहीअनुसार शाखा विस्तारको काम धमाधम भइरहेको संघका कार्यालय सचिव अनिल शर्माले बताए । ‘सबै बैंकले शाखा स्थापनाको काम अघि बढाइसकेका छन्,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्था नपुगेका मुलुकका २ सय ५० वटै स्थानीय तहमा शाखा खोल्ने गरी प्रक्रिया अघि बढिसकेको छ ।’ तर, संसदीय निर्देशनअनुसार भने बैंकले शाखा विस्तार गर्न सकेका छैनन् । संसद्को विकास समितिको २९ जेठ ०७४ को बैठकले दुई महिनाभित्र सबै स्थानीय तहमा बैंकका शाखा पु¥याउन निर्देशन दिएको थियो । त्यसअनुसार बैंकका शाखा नपुगेका ४ सय १२ स्थानीय तहमा गत साउन मसान्तसम्ममा बैंकका शाखा पुगिसक्नुपर्ने थियो । तर, हालसम्म एक सय शाखासमेत स्थापना हुन सकेको छैन ।

‘पूर्वाधार अभावले समस्या’
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले स्थानीय तहमा बैंकका शाखा स्थापना हुने क्रम बढे पनि कार्यप्रगति सन्तोषजनक नभएको बताए । संसदीय समितिले दिएको निर्देशनअनुसार ५० प्रतिशतसमेत काम हुन नसकेको उनले जानकारी दिए । खासगरी पूर्वाधार अभावका कारण बैंकहरू समयमै स्थानीय तहमा पुग्न नसकेको उनले बताए । ‘विद्युत्, सडक तथा इन्टरनेटलगायत पूर्वाधार नभएका कारण शाखा खोल्न समस्या भएको बैंकहरूले जनाएका छन्,’ उनले भने, ‘अर्कोतर्फ स्थानीय तहमै बैंकका शाखा कहाँ स्थापना गर्ने भन्ने विवाद रहेको समेत पाइयो ।