२७ कार्तिक नेपाली युवा क्रिकेट टिमले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । आइतबार मलेसियामा भएको एसीसी यू–१९ एसिया कपअन्तर्गतको आफ्नो दोस्रो खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रदर्शनको मद्दतमा तीनपटकको च्याम्पियन भारतलाई १९ रनले पराजित गरिएको हो । पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । कुनै पनि उमेर समूहको खेलमा नेपालले भारतलाई हराएको यो पहिलोपटक हो ।
जितपछि नेपाल एसिया कपको समूह ‘ए’को अंक तालिकाको दोस्रो स्थानमा छ । रन रेटका आधारमा भारत समूहको शीर्ष स्थानमा छ । दुई खेलबाट नेपालले २ अंक जोडेको हो । नेपालले अब आयोजक मलेसियासँग खेल्नेछ । भारतलाई पराजित गरेसँगै नेपालको सेमिफाइनल यात्रा सहज बनेको छ । मलेसियाविरुद्ध मंगलबारको खेलमा नेपालले जित निकाल्न सकेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह विजेता र उपविजेता टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रशिक्षक विनोद दासले युवा टिमको मिहिनेतका कारण भारतविरुद्ध जित सम्भव भएको बताए । उनले कप्तान ऐरीको प्रशंसा गर्दै भने, ‘कप्तान ऐरीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरे । उनको प्रदर्शनबाट म खुसी छु ।’
नेपालको जितमा कप्तान ऐरीले महŒवपूर्ण योगदान दिए । उनले ब्याटिङतर्फ ८८ रनको योगदान दिए भने भारतलाई सस्तैमा समेट्ने क्रममा ४ विकेट लिए ।
बायोमास ओभलमा आइतबार टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको थियो भने नेपालले सम्हालिएको प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रनको मध्यम स्कोर बनाएको थियो ।
नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको भारतको सुरुवात राम्रो थियो । तर, खेलाडीहरू नेपाली बलरसामु टिकेर खेल्न सकेनन् । कप्तान ऐरीले महŒवपूर्ण चार विकेट लिएपछि भारत ४८ ओभर १ बलमा अलआउट हुँदै १ सय ६६ रनमा समेटिएको थियो ।
भारतको पहिलो विकेटका रूपमा ओपनर हिमांशु राना रहे । उनले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दैै ४६ रन जोडे । उनलाई कमलसिंह ऐरीले बोल्ड गरे ।
आदित्य ठाकरेले १३ रन, मनोज कर्ला ३५ र सलमान खानले १ रनमा मात्र जोडे । अनुज रावलले २६ बलमा १८ रन जोडे । तनुस कोइटेन शून्य रनमा आउट भए । अभिषेक शर्मा २७ रन बनाएर खेलिरहँदा आउट भएपछि खेल नेपालको पक्षमा आएको थियो ।
लगत्तै कप्तान दीपेन्द्रसिंह ऐरीले मन्दीप सिंहलाई शून्य रनमा आउट गरे । ऐरीले नै शिव सिंहलाई ९ रनमा आउट गरे । ऐरीले ४ विकेट लिए ।
उत्कृष्ट बलिङ गरेका ऐरी १० ओभर बलिङ गर्दै २ मेडन ओभरसहित ३९ रन खर्चदै ४ विकेट लिन सफल भए । पवन सर्राफ र सहाब अलामले २÷२ विकेट लिए । सन्दीप लामिछाने र कमलसिंह ऐरीले १÷१ विकेट लिए । खेलमा कप्तान ऐरीले सर्वाधिक ८८ रन जोडे । १ सय १ बलको सामना गरेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरे । ओपनर जितेन्द्र सिंहले ९५ बलमा ३ चौका प्रहारको मद्दतमा ३६ रन जोडे । ओपनर आसिफ शेख भने ३ रन जोडेर आउट भए । अनिलकुमार साह र रोहितकुमार पौडेलले समान ६ रन जोडे । भीम सार्कीले १५, कमलसिंह ऐरीले १७, सन्दीप लामिछानेले ९, किशोर महतोले ७ र पवन सर्राफले १ रन जोडेका थिए ।
बलिङतर्फ भारतका आदित्य ठाकरे र अभिषेक शर्माले २÷२ विकेट लिए । मन्दीप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अथर्व टइडेले १÷१ विकेट लिएका थिए ।








