५ भदौं
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरण केवल आय, रोजगारी र राजस्व सङ्कलनको विषय मात्र नभई यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगसँग पनि जोडिएको उल्लेख गरेका छन्। विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा कानुन निर्माण गरी यसलाई व्यवस्थित गरिएमा अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्ने उनको भनाइ छ।
विगतमा विकसित मुलुकहरूको दबाबमा यसमा प्रतिबन्ध लगाइए पनि अहिले ती देशहरू नै खुलापनतर्फ गएकाले नेपालले पनि यसलाई सकारात्मक रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
यो विषय मुख्यतया गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले थप अध्ययन र कानुनी निक्र्यौलका लागि गृह मन्त्रालयसँग समन्वय गर्ने उनले जानकारी दिएका छन्। औद्योगिक प्रवर्द्धन र सरकारी राजस्व वृद्धिको दृष्टिकोणबाट यसलाई प्राथमिकतामा राखेर तदारुकताका साथ निष्कर्षमा पुर्याउन आफूले पहल गर्ने विश्वास पनि उनले दिलाएका छन्।









