१४ साउन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपश्थितिमा प्रश्न गरेका छन् ।
उनले सुनसरी घटनाकाबारेमा रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर समस्या समाधानको सामुहिक पहल गरेकामा धन्यवाद दिए ।
उनले यसलाई राज्यको असफलताको परिणाम भएको बताए । सुनसरी घटनालाई कांग्रेसले आन्तरिक हिसाबले छानबिन गर्ने तर सरकारलाई अप्ठेरोमा नपार्ने उनले बताए । उनले भने, ‘यस्तो बेला पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने, ठालू बनेर बस्ने ?’ प्रधानमन्त्रीले यस्तो बेला सकारात्मक हिसाबले काम गर्नु पर्ने सन्देश सभापतिमार्फत पुर्याउन भनिएको थापाले बताए ।
उनले कांग्रेस पार्टीका जनप्रतिनिधि, नेताहरुलाई पनि बैठक राखेर समस्या समाधान प्रयत्न गर्न भनिएको बताए । उनले सुनसरीलगायतका प्रभावित जिल्लाहरुमा पनि यस्ता घटना नहुन दिन कांग्रेसको भूमिका निभाउन आग्रह गरिएको बताए ।
सभापति लामिछानेले आह्वान गरेकोसर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ अनुपश्थित छन् । यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि बैठकमा गएका छैनन् ।









