२७ असार

काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा एक बोलेरो जीप सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।

घाइतेहरूमध्ये सात जनाको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा दुर्गाथली गाउँपालिका–६ की ६० वर्षीया केलादेवी महत, सोही स्थानका ६० वर्षीय चक्र महत र केदारस्यूँ गाउँपालिका–७ की बिमला धामी रहेका छन्।

घटनास्थल भौगोलिक रूपमा निकै विकट र दुर्गम क्षेत्रमा रहेकाले उद्धार कार्यमा निकै कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिए।

घाइतेहरूको अवस्था नाजुक भएकाले उनीहरूलाई थप उपचारका लागि तत्काल अन्यत्र सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकोप्टर पठाइसकिएको र उद्धारको तयारी भइरहेको प्रशासनले जनाएको छ।

दुर्घटनाका समयमा उक्त जीपमा जम्मा कति जना यात्रु सवार थिए भन्ने यकिन विवरण अझै आउन बाँकी छ। अहिले घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली पुगेर घाइतेहरूको उद्धार कार्यलाई तीव्रता दिइरहेका छन्।  जीप दुर्घटना हुनुको मुख्य कारणबारे प्रहरीले विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ। हाम्राकुरावाट