१८ जेठ
काठमाठौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन साहको विवादास्पद सीमासम्बन्धी अभिव्यक्ति र त्यसमा समर्थन जनाउने सत्तापक्षका सांसदहरूको आलोचना गरेका छन्। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेशस्तरीय पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
सभापति थापाले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रहितविपरीत, अपरिपक्व र अराजनीतिको संज्ञा दिए। संसद्मा प्रधानमन्त्रीको भनाइमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई प्रश्न गर्न उनले मतदाताहरूलाई आह्वान समेत गरे।
सभापति थापाले नेपालले पनि अरूको सिमाना मिचेको छ भन्नु राष्ट्रघाती भएको उल्लेख गर्दै यस्तो अभिव्यक्तिमा समर्थन जनाउन जनताले सांसदहरूलाई संसद्मा नपठाएको स्पष्ट पारे। यसका विरुद्ध बोल्न र आफ्ना जनप्रतिनिधिलाई जवाफदेही बनाउन मतदाताहरूले दबाब दिनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए झन् खतरनाक हुने टिप्पणी गर्दै उनले यस अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको बताए। उनले प्रधानमन्त्री शाहलाई तत्काल संसद्मा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिँदै यस विषयमा माफी नमागेसम्म जनताले उनलाई नछाड्ने दाबी गरे। सरकारले गलत काम गर्दा सच्याउन बाध्य पार्ने प्रतिपक्षको धर्म भएको र त्यो जिम्मेवारी कांग्रेसले पूरा गर्ने उनले स्पष्ट पारे।
संसद्बाट जबरजस्ती प्रतिनिधि सभा नियमावली २०८३ पारित गरिएको घटनाप्रति सभापति थापाले कडा आपत्ति जनाउँदै यसलाई संसदीय इतिहासकै कालो दिनको संज्ञा दिए। सभामुख र सत्तारुढ दलले यस विषयमा पुनर्विचार नगरे कांग्रेस अदालत जाने सङ्केत समेत उनले गरे।
पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा बोल्दै थापाले आगामी निर्वाचनमा उम्मेदवार बन्नका लागि नेताहरूलाई रिझाएर नहुने, बरु कार्यकर्तालाई विश्वासमा लिनुपर्ने स्पष्ट पारे। पार्टीमा भइरहेको क्रियाशील सदस्यता अध्यावधिकको मुख्य उद्देश्य नै उम्मेदवार छनोट प्रक्रियामा क्रियाशील सदस्यहरूको मतलाई आधार बनाउनु रहेको उनले जानकारी दिए।
उपयुक्त उम्मेदवार चयनका लागि पार्टीले सर्वेक्षण गर्ने र त्यसकै आधारमा उम्मेदवार तोकिने उनको भनाइ थियो। साथै, आगामी चैतभित्र सबै भ्रातृ संगठनहरूको महाधिवेशन सम्पन्न गर्ने गरी तीव्र तयारी भइरहेको र पार्टीको औपचारिक संरचनाभन्दा बाहिर रहेका व्यक्तिहरूलाई पनि समेट्ने गरी कार्यक्रम ल्याइने जानकारी उनले दिए।