८ जेठ
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकमा विस्थापित सुकुम्बासी होल्डिङ सेन्टर (नेपाल रेडक्रस सोसाइटी, बनेपा) को स्थलगत अनुगमनसम्बन्धी प्रतिवेदन र समग्र विपद् व्यवस्थापनका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो। तर, सो संवेदनशील र सार्वजनिक चासोको विषय भइरहेको छलफलमा सञ्चारमाध्यम र पत्रकारहरूलाई प्रवेश रोकेपछि कांग्रेसले असन्तुष्टि पोखेको हो।
बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राज्य व्यवस्था समितिका सदस्य एवं नेपाली कांग्रेसका वरिष्ठ सांसद अर्जुननरसिंह केसीले बैठकमा मिडियालाई प्रवेश निषेध गरिनु लोकतान्त्रिक मूल्य-मान्यता र पारदर्शिताको सिद्धान्त विपरीत भएको बताए।

लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण अङ्ग मानिने प्रेसलाई संसदीय समितिको बैठकबाट बाहिर राख्नु आपत्तिजनक भएको टिप्पणी गर्दै उनले आगामी बैठकमा यो विषयलाई प्रमुखताका साथ उठाउने चेतावनी दिए।
सांसद केसीले भने “बनेपाको होल्डिङ सेन्टरको प्रतिवेदन र विपद् व्यवस्थापनको विषयमा आज छलफल भएको हो। यी दुवै जनसरोकारका महत्त्वपूर्ण विषय हुन्। यस्तो अवस्थामा सञ्चारकर्मीहरूलाई निषेध गर्ने कुरा निकै गम्भीर हो। म आगामी बैठकमा यसबारे गम्भीरताका साथ कुरा उठाउँछु। प्रेसलाई खुला रूपमा छोड्नुपर्छ। बैठकको छलफलमा कसको के विचार आयो भन्ने कुरा जनताले जस्ताको त्यस्तै थाहा पाउनुपर्छ भन्ने पक्षमा म दृढ छु।









