४ जेठ

नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्न माग गरेकी छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मेयर हुँदा राखिएको नक्सा अहिले पनि राख्नुपर्ने बताइन्।

उनले भनिन्,‘ सम्माननीय प्रधानमन्त्रीज्यू मेयर हुँदा राख्नुभएको ग्रेटर नेपालको नक्सा यहाँ पनि फेरि चाहियो भन्ने माग गर्न चाहन्छु। जनताले त्यही देखेर केपी ओलीभन्दा राष्ट्रबादी नेता बालेन हो भनेर भोट खसाइदिएका हुन्।’

यस्तै उनले लिपुलेकको व्यापारिक मार्गको विषयमा किन चुपचाप भन्दै प्रश्न गरिन्। उनले भनिन्,‘अहिले लिपुलेकको व्यापारिक मार्गको विषयमा किन चुपचाप हुनुहुन्छ ? समर्थकले सरकारको बचाउको लागि फेसबुकमा चिठी हालेको भरलाई जनताले पत्याइदिनुपर्ने हो कि कूटनीतिक पहल पनि केही भएको छ?’

यस्तै उनले भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारको मन्त्रीहरूको त्यति धेरै सुन कसरी आयो भनेर प्रश्न गर्दै सुशासन र पारदर्शिता आफैँबाट सुरु गर्नुपर्ने बताइन्।