११ फागुन
पोखरा । धादिङ स्थित बेनीघाट रोराङ गाउँपालिकाको चरौदीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । पोखराबाट काठमाडौं जाँदै गरेको ग२ख १४२१ नम्बरको बस आज बिहान करिब सवा १ बजेतिर त्रिशूलीमा खसेको थियो। बस भैँसीगौडास्थित सडकबाट करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको हो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या अहिलेसम्म १९ जना पुगेको छ। २५ जना घाइते फेला पारेकामा २४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । तीमध्ये २ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । एक जनाको ट्रमा सेन्टरमा ज्यान गएको हो । १७ जनाको घटनास्थलबाटै शव निकालिएको थियो ।
मृतकमध्ये २ जना विदेशी नागरिक छन् । मृत्यु भएका एक जना विदेशी नागरिकको परिचय भने खुलेको छ । परिचय खुलेका विदेशी नागरिक STEWART DOMINICETHAN छन् । उनी बेलायतका हुन् ।

घाइते एक जनाको भने मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी न्युजिल्यान्डकी नागरिक हुन्। अवस्था सामान्य भएकाले उनले आफू काठमाडौं नजाने र यही उपचार गर्ने बताएकी थिइन्।
बसमा सवारको प्रारम्भिक विवरण आए पनि घाइते र मृतकको पहिचान हुन सकेको छैन । शव पोष्टमार्टमका लागि गजुरी सामुदायिक अस्पतालमा पठाइएको छ। बसमा मुग्लिनबाट २ जना वा ३ जना चढेकोबारे यकिन नभएको प्रहरीले बताएको छ ।








