२१ मंसीर
पर्वत। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालमा प्रकट भएको लोकप्रियतावादले मुलुकलाई झन् झन् अप्ठ्यारोमा पार्दै लगेको वताउनु भएको छ । पछिल्लो विकसित राजनीतिक अवस्थापछि शनिबार पर्वतको कुश्मामा आफैले पत्रकार सम्मेलनको आयोजना गरि काँग्रेस नेता जोशीले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
केही समूहले पुराना र नयाँ दलको नाममा वा पाका र युवा भन्ने वहानामा जनतालाई दिग्भ्रमित बनाएर मुलुकको लोकतन्त्र र दलीय व्यवस्थालाई नै संकटमा पारेको वताउँदै नेता जोशीले जिम्मेवार नागरिकले यस्ता विषयमा गम्भीर भएर सोच्न सुझाव दिनुभयो । उहाँले भारत, चीन, अमेरिका र रसियाजस्ता शक्तिशाली देशमा पनि ७५ बर्ष माथिकै उमेर समूहले शासन गरेको उल्लेख गर्दै नेपालमा मात्र प्रायोजित युवा वादलाई अघि सारिएको दावी गर्नुभयो । -‘युवा युवा भनेर आन्दोलन गरेको युवाहरूले पनि शासनमा उनै बृद्धहरूलाई लगेर राख्नुपरेपछि किन युवा भनिरहनु ?, फेरि सोंच र विचारले युवा हुने हो उमेरले होइन ।’- जोशीले भन्नुभयो ।
एक अर्को प्रसङ्गमा बोल्दै नेता जोशीले आफू फेरी पनि निर्वाचनमा उमेदवार बन्ने संकेत गर्नुभएको छ । जेन-जी पुस्ताले अघि सारेका सवै शर्तहरुमा आफू योग्य रहेको भन्दै राजनीतिबाट आफू पर रहन नसक्ने तर्क गर्नुभएको हो ।जोशीले भन्नुभयो ‘मैले पहिला भन्ने गर्थे, लौन काँध फेरौं, साथीहरु लड्नु्स तर पाटी नेतृत्वले मलाई नै टिकट दियो ।’ जिएनजि आन्दोलनले युवा नेतृत्व भन्दा शुसासन खोजेको भन्दै आफू उमेरका कारणले मात्रै अयोग्य नभएको जोशीले बताउनुभयो । आफू अहिलेसम्म भ्रष्ट्रचारको मामिला कतै पनि दाग लाग्ने नेता नभएको भन्दै आगामी निर्वाचनहरु लड्नका लागि योग्य रहेको जोशीको भनाई थियो ।
उहाँले पार्टीको नेतृत्वमा अव आफू पदाधिकारी बाहेक सदस्य मात्रै नहुने संकेत गर्दै १६ बर्षसम्म केन्द्रिय सदस्य भईसकेको स्मरण गराउनुभयो । यस अघि नै आफू सहमहामन्त्रीको आकांक्षी भईसकेको भन्दै जोशीले आगामी महाधिवेशनमा पदाधिकारीमा उमेदवारी दिने समेत बताउनुभयो । पाटीको नेतृत्व परिर्वतनको पक्षमा आफू रहेको भन्दै पूर्व सांसद रहेका जोशीले पाटीका नेताहरुको सुझाबका आधारमा आफू अघि बढ्ने समेत बताउनुभयो ।
सामाजिक सञ्जालमा आफ्नो सक्रियता निरन्तर रहेको भन्दै उहाँले युवा पुस्ताले खोजे बमोजीमको ‘डेलिभरी’ दिन आफू सक्षम रहेको समेत जिकिर गर्नुभयो । जिल्लाको पाटी नेतृत्व वीच विभाजन हुँदा यस अघिका निर्वाचनहरुमा कांग्रेसले पराजय भोग्नु परेको स्मरण गर्दै अवबाट जिल्लामा सहमतीको वातावरण बनाउन आफूले प्रयास गर्ने समेत जोशीको भनाई थियो । आगामी माघ महिनामा हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन महिनामा तोकिएको प्रतिनिधि सभाको निर्वाचन दुईमध्य एकमा आफूले दावी गर्ने उहाँको आशय थियो ।
उहाँले दुवै निर्वाचनको लागि आफू योग्य भएको र तयार रहेको समेत बताउनुभयो । ५ पटकसम्म प्रतिनिधि सभामा उमेदवार बन्नु भएका जोशी ३ पटक लगाएत विजयी बन्नुभएको थियो भने २ पटक निरन्तर पराजीत हुनुभएको थियो ।
कांग्रेसको १५ औं महाधिवेशनमा आफूलाई संस्थापन पक्षमै उभ्याउने भन्दै जोशीले आफ्नो समर्थन जहाँ रहन्छ त्यो समूह नै पाटीको संस्थापन पक्ष हुने समेत स्पष्ट पार्नुभयो । उहाँले आफू पहिलो पटक चुनाव जितेर गाउँ जाँदा गाउँमा पानी, विजुली, बाटो केही नभएकोमा आज पर्वतका हरेक गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सबै विकासका पूर्वाधार पुगेको र मानव विकास सूचकाङ्कमा समेत पर्वत आठौं नवौं स्थानमा आएकोमा खुसी व्यक्त गर्दै अझैपनि पर्वतको समग्र विकास र समृद्धिका लागि सबै पार्टी र नागरिक समाजको सहभागितालाई जोड दिनुपर्ने धारणा राख्नुभयो ।








