५ साउन
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यादेवी भण्डारीलाई उनको पार्टी सदस्यता नवीकरण नहुने र उनले राजनीतिमा सक्रिय हुनुको सट्टा पूर्वराष्ट्रपतिका रूपमा सम्मानपूर्वक बस्नुपर्ने स्पष्टसँग बताएका छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आइतबार पार्टी कार्यालय च्यासलमा भएको भेटमा ओलीले सो कुरा भनेका हुन्।
त्यस्तै आइतबारको भेट पूर्वराष्ट्रपति भण्डारीकै आग्रहमा भएको हो। भण्डारीले आइतबार बिहान अध्यक्ष ओलीलाई टेलिफोन गरेर संवादका लागि आग्रह गरेकी थिइन्। भण्डारीको आग्रह अनुरूप ओलीले भेटका लागि सुरूमा प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए।
‘पूर्वराष्ट्रपतिले फोन गरेर भेटौं भनेपछि प्रधानमन्त्रीले बालुवाटारमा भेट्ने त भन्नुभएको रहेछ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘बालुवाटारमा नभेटौं, पार्टी कार्यालयमै भेटौं भनेपछि च्यासलमा भेट भएको हो।’
भेटमा भण्डारीले पार्टी सदस्यता नवीकरणको सन्दर्भ उठाएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ। ‘पूर्वराष्ट्रपतिले आफ्नो सदस्यता नवीकरणबारे पार्टी अध्यक्षलाई सोध्नुभयो। अध्यक्षले तपाईंको सदस्यता नवीकरण हुँदैन भनेर आज पनि स्पष्ट भाषामा भन्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने।
त्यसपछि पूर्वराष्ट्रपति भण्डारीले ‘मैले पहिले स्वेच्छाले सदस्यता त्यागेकाले पुन: प्राप्त गर्न निवेदन त दिनैपर्ने रहेछ’ भनेको पनि ती सदस्यले बताए। तर त्यसपछि प्रधानमन्त्री ओलीले यो प्रक्रियाको कुरा नभएको र भण्डारीले एमालेको सदस्यता लिएर सक्रिय राजनीतिमा फर्किन नमिल्ने प्रस्ट पारेका थिए।
‘प्रधानमन्त्रीले स्रेस्ता मिलाएर सदस्यता फेरि लिने कुरा होइन, यो कुनै व्यक्तिको कुरा पनि होइन। राष्ट्रपति भइसकेको मानिस राजनीतिमा फर्किन मिल्दैन भन्ने कुरा नै हो। यो खासमा व्यवस्था र प्रणालीको कुरा हो भन्नुभएको छ,’ ती सदस्यले भने। त्यसपछि भण्डारीले ‘मेरो भूमिका के हुन्छ त’ भनेर जिज्ञासा राखेकी थिइन्।
प्रधानमन्त्री ओलीले ‘तपाईं पूर्वराष्ट्रपतिको हैसियतमा सम्मानपूर्वक बस्ने हो’ भनेर प्रस्ट पारेको उनले बताए। च्यासलमा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच पौने दुई घन्टा कुराकानी भएको थियो।
उनीहरूबीच अपराह्न तीन बजेका लागि भेट तय भएको थियो। भण्डारी ३:२२ बजे ललितपुरस्थित एमाले मुख्यालय च्यासल पुगेकी थिइन्। ओलीले समय धकेलेपछि उनीहरूबीच ३:५७ बजे मात्र भेट भयो। करिब आधा घन्टा भण्डारी पार्टी कार्यालयमा कुरेर बसिन्।
उनीहरूबीच साँझ ५:४५ बजेसम्म कुराकानी भएको थियो। भेटको बिट मारेर बाहिर निस्किँदा अध्यक्ष ओलीले कुनै प्रतिक्रिया दिएनन्। ओलीसँगै आएकी भण्डारी भने सञ्चारकर्मीसामु बोलेकी थिइन्। भण्डारीले धेरै बताउन चाहेकी थिइन्। तर सञ्चारकर्मीको हुलमुलले त्यो वातावरण बिथोलियो।
संक्षिप्त प्रतिक्रियामा भण्डारीले ओलीसँगको राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको बताइन्।
सञ्चारकर्मीले उनको पार्टी सदस्यता नवीकरणबारे जिज्ञासा राखेका थिए। सुरूमा त उनले ‘यो कुरा पछि बताउँला’ भनेर टारिन्। ‘यो कुरा पछि भनौंला, आज उहाँसँग राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी भयो। अरू विषय तपाईंलाई आधिकारिक च्यानलबाट मात्रै थाहा हुन्छ,’ उनले भनिन्।
‘तपाईंको सदस्यता नवीकरण भइसकेको हो’ भन्दै सञ्चारकर्मीले दोहोर्याएर सोधेपछि भने उनले भइसकेको बताइन्।
‘होइन, त्यो त पुरानै कुरा भयो। पहिले नै सकेको कुरा हो,’ उनले यति मात्रै भनिन्।
च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा पार्टी कार्यालय उनले टेकेको तेस्रो पटक हो। यसअघि उनी सुवास नेम्वाङ र तुलशीलाल अमात्यकै स्मृतिमा पार्टी मुख्यालय पुगेकी थिइन्।









