President Bidya Devi Bhandari signs to enact a bill at the Sheetal Niwas, on Thursday, February 25, 2016. Photo: President's Office

१४ असार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक राजनीतिमा फर्किएको घोषणा गरेकी छन्। मदन भण्डारीको जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन्।

त्यसका लागि आफूले पार्टी सदस्यता नवीकरण गरेको पनि भण्डारीले बताइन्। पार्टी सदस्यता नवीकरण गरेको छु। एमालेको एक सदस्यको रूपमा पुन जोडिएको छु,’ उनले भनिन्।

पार्टीमा फर्केपछि आफ्नो विशिष्ट आकांक्षा नभएको पनि उनले बताइन्। पार्टी जिम्मेवारीमा फर्किएको घोषणाअघि भण्डारीले आफू राष्ट्रपतिबाट बाहिरिएको दुई वर्षको अन्तरालमा आफूले मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया  र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको उनले बताइन्।

‘यसबाट सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने मेरो निष्कर्ष छ,’ उनले भनिन्। पार्टी राजीनीतिमा फर्किएको घोषणा गर्दै गर्दा भण्डारीले मदन भण्डारीको भनाइ सम्झिइन्।

‘जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु,’ उनले भनिन्।

यी भनाइलाई आदर्श मानेर आफू समर्पित बनिरहने पनि भण्डारीले बताइन्। ‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन् ।  मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ ,’ उनले भनिन्।