२ असार
काठमाडौँ । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाले नैतिकताको पाठ सिकाउनु सुहाउँदो नभएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा उनले ५ वटा मुद्दा भोगेर कारागारमा रहेका रवि लामिछाने नै रास्वपाको सभापति भएको निर्वाचन आयोगको अभिलेखमा उल्लेख भएको भन्दै आपत्ति जनाएका हुन् ।
अरूसँग नैतिकता खोज्ने रास्वपाका सांसदहरूले आफैंभित्रबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न उनले आग्रह गरे । ‘अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिको पदमा रवि लामिछाने, जो जेलमा हुनुहुन्छ, ५ वटा मुद्दा उहाँमाथि छ । उहाँ नै अहिले पनि त्यसको निर्वाचन आयोगको अभिलेखमा सभापति पदमा हुनुहुन्छ । त्यो पार्टीले अहिले नैतिकताको पाठ कसैलाई सिकाउन मिल्छ कि मिल्दैन ? मेरो यो प्रश्न छ,’ घिमिरले भने ।
रास्वपाको संसदीय दलको नेता समेत परिवर्तन भएको कुरा समेत बाहिर नआएको उनको भनाइ छ । उनले अगाडि भने, ‘संसद् सचिवालयमा अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ । जो सांसदबाट पनि निलम्बित भइसक्नुभएको छ, त्यही व्यक्तिलाई नै अहिले संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकताको सिकाउन कति मिल्ने हो ? कति जायज हो ?’
भिजिट भिसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ ।









