२७ जेठ
तनहुँमा फेरि चितुवाको आक्रमणमा परी एक बालकले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. २ कुवादी बस्ने दल बहादुर गुरुङको छोरा वर्ष ६ को उत्सव गुरुङ रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

सोमबार साँझ अन्दाजी साढे ७ बजेको समयमा आफ्नै घरको आँगनमा बसिरहेको अवस्थामा अचानक चितुवाले आक्रमण गर्दा बालक घाइते भएका थिए । घाइते बालकलाई उपचारको लागि बन्दिपुर अस्पतालमा लगेकोमा उपचारको क्रममा ८:२० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको हो ।
गत २०८१ चैत २९ गते साँझ साढे ६ बजेतिर बन्दिपुर गाउँपालिका वडा नं. २ मै कामी डाँडाकी १० वर्षीया अनुजा बिकलाई चितुवाले आक्रमण गर्दा उनको ज्यान गएको थियो । अनुजा घरभन्दा डेढ किलोमिटर टाढा फुपु दिदी घर जाने भन्दै निस्किएकी थिइन् । बालिका निकै बेरसम्म घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । काकाले बाटोमा अनुजाको चप्पल देखेपछि तुरून्त छिमेकी र प्रहरीलाई खबर गरेर खोजी सुरु गरिएको थियो ।
चितुवाले घरदेखि तल जंगलमा लगेर खाएको अवस्थामा शव भेटियो । घाँटी र दाहिने तिघ्राको भाग खाइसकेको अवस्थामा बालिका भेटिएकी थिइन् ।
चितुवाको आक्रमणबाट पछिल्लो अवधिमा १६ जना बालबालिकाले ज्यान गुमाइसकेका छन्। यसमध्ये २०७४ देखि २०७६ सम्म २ वर्षभित्र मात्रै ९ जना बालबालिकाले ज्यान गुमाएका थिए । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन्।
चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ । मृग, वनकुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकार अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँ बताउँछ।









