२९ चैत्र

काठमाडौँ । राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी आज काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ।

नेपाल प्रहरीको विशेष ब्यूरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाएको छ। प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारतसम्म पुगेका थिए।

विगत एक सातादेखि प्रसाईंको खोजीमा भारतको आसामस्थित गुवाटीमा रहेका नेपाली सुरक्षाकर्मीले लोकेशन ट्र्याक गरेर भारतीय प्रहरीलाई सूचना दिएपछि बिहीबार उनलाई नियन्त्रण लिइएको थियो। उनलाई बिहीबार साँझ आसामबाट नेपालतर्फ हिँडाइएको थियो।

प्रसाईंलाई नेपाल ल्याइँदै गरेको खबरपछि आज बिहानैदेखि मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरूको ठूलो भीड लागेको थियो।

१५ चैतको प्रदर्शनमा हिंसा भड्काएपछि प्रसाईं फरार भएका थिए।  राजावादीको उक्त हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई समेत कुल्चिने प्रयास गर्दै गाडी चलाएको आरोप छ।

प्रसाईं फरार भए पनि प्रहरीले यसअघि नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सुरक्षा दिएर उनलाई काँकडभिट्टाबाट भद्रपुर विमानस्थल पुर्‍याएको छ। प्रहरी स्रोतका अनुसार प्रसाईंलाई केही समयभित्रै बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइँदै छ।