२७ चैत्र

अमेरिकी सरकारको आर्थिक सहयोगमा सञ्चालित विकास परियोजना र कार्यक्रमहरू बन्द भएपछि त्यसको सिधा असर पर्यटन क्षेत्रमा परेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिब तथा विकासोन्मुख देशहरूलाई दिइने वैदेशिक सहायता कटौती गरेपछि नेपालमा सञ्चालन भइरहेका विकास परियोजना र कार्यक्रम पनि धेरैजसो बन्द भएका छन्। यसले देशभरका होटल व्यवसायमा असर पुगेको छ।

नेपालमा ७० वर्षदेखि विकास सहायता गर्दै आएको अमेरिकी सहयोग नियोग (युएसएआइडी) ले शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गर्थ्यो। त्यस्तै गैरसरकारी संस्थाहरूको समन्वयमा पनि थुप्रै कार्यक्रम हुँदै आएका थिए। यी परियोजना बन्द भएपछि सम्बन्धित कर्मचारी, परामर्शदाता र अन्य सरोकारवालाहरूको आवागमन सुस्त भएको छ।

परियोजनासँग सम्बन्धित तालिम, गोष्ठी, सेमिनार लगायतका कार्यक्रम पनि बन्द भएका छन्। यसले काठमाडौंसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका होटलहरूमा पाहुनाको उपस्थिति उल्लेख्य संख्यामा घटेको छ।

पहिले यहाँका स्थानीय होटलमा विकासे कार्यक्रमहरू नियमित आयोजना गरिन्थे। स्वदेशी तथा विदेशी पाहुनाले बाह्रै महिना होटल भरिभराउ हुन्थे। कोठाभाडा, खानपिन, सम्मेलन हलको शुल्क र अन्य सेवा-सुविधाका माध्यमबाट होटलहरूले राम्रो आम्दानी गर्दै आएका थिए। अहिले ती कार्यक्रम नहुँदा होटलको व्यवसायमा गिरावट आएको छ।

कम्तीमा १० देखि १५ प्रतिशत व्यवसाय खस्किएको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका होटल व्यवसायी बताउँछन्।

यो स्टोरीमा हामी युएसएआइडीका कार्यक्रम बन्द भएपछि कुन होटलमा कस्तो प्रभाव पर्‍यो भन्नेबारे चर्चा गरेका छौं।सबभन्दा पहिला कुरा गरौं, देशभरि होटल सञ्जाल विकास गरेको सिद्धार्थ हस्पिटालिटी ग्रुपको।

यो ग्रुपले पूर्वदेखि पश्चिमसम्म सञ्जाल फैलाएको छ। युएसएआइडीका कार्यक्रम बन्द भएपछि खासगरी कर्णाली, सुदूरपश्चिम र मध्यपश्चिमका होटलमा असर पुगेको ग्रुपका प्रमुख कार्यकारी कृष्ण न्यौपाने बताउँछन्।

उनका अनुसार यी क्षेत्रमा होटलको अकुपेन्सी उल्लेख्य घटेको छ। होटलसँग जोडिएका अन्य व्यापार-व्यवसाय पनि नराम्ररी प्रभावित भएका छन्।

‘हामीकहाँ युएसएआइडीको वित्तीय सहयोगमा गोष्ठी, तालिम र अन्य कार्यक्रम नियमित हुँदै आएका थिए। विदेशबाट र काठमाडौंबाट आउने पाहुनाको आवागमन बाक्लै हुन्थ्यो। नेपालको पश्चिम क्षेत्रका धेरै होटलको व्यवसाय यस्तै कार्यक्रमले धानेको थियो,’ न्यौपानेले भने, ‘जहिलेदेखि युएसएआइडी परियोजना बन्द भए, यहाँको होटल व्यवसाय खस्किएको छ। समग्रमा १५ प्रतिशत व्यापार घटेको हुनुपर्छ। सिद्धार्थ हस्पिटालिटी पनि यसको मारमा परेको छ।’

सिद्धार्थ हस्पिटालिटीले पश्चिमतर्फ महेन्द्रनगर, टीकापुर, चिसापानी, नेपालगन्ज, सुर्खेत, दाङ, भैरहवा र बुटवलमा होटल सञ्चालन गरिरहेको छ।

यी ठाउँमा युएसएआइडीसँगै अन्य सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रम थुप्रै हुन्थे। अहिले यी क्षेत्रका होटलमा हुने कार्यक्रम उल्लेख्य संख्यामा घटेको छ। यसले होटलको अकुपेन्सीदेखि सम्मेलन हलबाट हुने आम्दानी र रेस्टुरेन्टको व्यवसाय समेत खस्किएको छ।