४ मंसीर
पर्वत । स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिले तलवको दुई प्रतिशत रकम बीमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन्।
मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताए।
तलब खानेहरूको दुई प्रतिशत रकम सिधै बीमा कोषमा जाने गरी काम गर्न खोज्दा आफूलाई कतिपयले महत्त्वाकाङ्क्षी भएर बोलेको त कतिपयले मन्त्रीले जे पायो त्यही बोलेको आरोप लगाएको पनि उनले बताएका छन्।
रोजगारी पाएकाहरूले उपचार पाउन सहज भएको भए पनि रोजगारी, आम्दानी नभएका तथा विपन्न परिवारका व्यक्तिहरूले उपचार नै पाउन नसकेको अवस्था रहेको भन्दै मन्त्री पौडेलले उनीहरूलाई बचाउनको लागि पनि तलबको दुई प्रतिशत काटिने व्यवस्था हुनुपर्ने धारणा राखे।
‘यो पारित भएको वा पूरा भएको कुरा होइन। हामीले प्रस्ताव गरेको कुरा के हो भने जसले तलब खान्छ उसको तलबको दुई प्रतिशत बीमा कोषमा जाने व्यवस्था हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘यो कसरी सम्भव छ भन्ने कुरा प्रस्तावमा लेखिएको छ। कतिको रोजगारीको छैन, कतिले उपचार नै पाएका छैनन्। त्यसैले सम्बन्धित क्षेत्रमा जसले तलब खान्छ यसले दुई प्रतिशत योगदान गर्दा मात्रै पनि उपचार नै नपाएकाहरूले उपचार पाउन सक्छन्।
उपचार गर्ने कुनै उपाय नै नभएका मान्छेलाई बचाउनु सबैको कर्तव्य हुने भन्दै उनले सरकारले उठाउने सबै कर, भ्याट र व्यक्तिले तिर्ने करबाट पनि ०.५ प्रतिशत बीमा कोषमा जानुपर्छ भन्ने प्रस्ताव गरिएको मन्त्री पौडेलको भनाइ छ। स्वास्थ्य कर कोषमा अहिले जति उठ्छ त्यसमा तेब्बर हुने व्यवस्था हुनुपर्ने, सिम कार्ड, डिजेल, पेट्रोल लगायतबाट पनि केही रकम बीमा कोषमा जाने गरी काम गर्नुपर्ने पनि उनले बताएका छन्।
औषधि विक्रेताहरूबाट सेवाग्राही ठगिने गुनासाहरू धेरै आएपछि यसको समाधानको लागि एक महिनाभित्रमा नै नयाँ व्यवस्था ल्याउन लागिएको उनले बताएका छन्। सबै फार्मेसीले आफ्नो पसलमा रहेका औषधि र तिनीहरूको मूल्य देखिने गरी बोर्डमा टाँसेको हुनुपर्ने उनको भनाई छ। यदि बोर्डमा नभएको औषधि पसलमा राखिएको पाएमा त्यसलाई गैर कानुनी हुने व्यवस्था गरिने र बोर्डमा भएको मूल्य भन्दा बिलमा बढी मूल्य लिएको पाएमा फार्मेसीलाई तुरुन्तै कारबाही गर्ने व्यवस्था ल्याउन लागिएको मन्त्री पौडेलले बताए।
मन्त्री नहुने बेलासम्म मैले पनि यति सानो कुरा किन नभएको होला भन्ठान्ने गरेको सुनाउँदै उनले सबै कुराको व्यवस्थापन अन्ततः स्रोतसँग जोडिने मन्त्री भएपछि बुझेको सङ्केत गरे। अस्पतालमा प्रसूति वार्डको अझै राम्रो व्यवस्थापन हुनुपर्ने भन्दै मन्त्री पौडेलले त्यसका लागि आवश्यक उपकरणहरू उपलब्ध गराउने आश्वासन दिएका छन्।
हिजो पर्वत आएका मन्त्री पौडेल अस्पतालको कार्यक्रम पश्चात नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयमा पुगेर कार्यकर्ता संग अनोपचारीक छलफल गरेका थिए ।